कैलालीको गौरीगंगा नगरपालिकाद्वारा सामुदायिक वनको बजेटमा गरिएको ग्रावेल देखाएर भुक्तानी
कैलालीको गौरीगंगा नगरपालिकामा सामुदायिक वनले ग्रावेल गरेको सडक देखाएर वडा कार्यालयले बजेट दिएको खुलासा भएको छ। गौरीगंगा नगरपालिकाको वडा नम्बर ८ का विभिन्न सडक सामुदायिक वनले आफ्नै बजेटमा ग्रावेल गरेकोमा वडा कार्यालयले तीनै सडक देखाएर बिकास बजेटको दुरुपयोग भएको हो।
वडामा सुनपाल सामुदायिक वनले गरेको ग्रावेलमा वडा कार्यालयले गठन गरेको उपभोक्ता समितिले गरेको भन्दै रकम भुक्तानी दिएको स्थानीय पदम कलेलले आरोप लगाए। पूर्व–पश्चिम राजमार्गको न्यू सिर्सा आयल स्टोर देखि उत्तर मसुरिया–तालबन्द सडकलाई जोड्ने सडक र शिवशक्ति टोलको सडकमा सुनपाल सामुदायिक वनले ग्रावेल हालेको थियो।
सोही ग्रावेललाई देखाएर वडा नम्बर ८ को कार्यालयले गठन गरेको उपभोक्ता समितिले पनि नगरपालिकाबाट भुक्तानी लिएको उनले बताए। गत आर्थिक वर्ष २०७५/०७६ मा सुनपाल सामुदायिक वनले चार लाख ४३ हजार सात सयको ग्रावेल गरेको छ। सडकमा सामुदायिक वनले ग्रावेल गरेको सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लिराज जोशीकोे पनि दावी छ।
गत आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले वडा नम्बर ८ को कार्यालयलाई ३१ लाख २७ हजार सहायक तथा मुल सडक ग्रावेल उपभोक्ता समिति र सडक मर्मत शिर्षकमा पाँच लाख ६३ हजार विनियोजन गरेको थियो। पाँच लाख ६३ हजारको उपभोक्ता समितिको अध्यक्षमा गोविन्द चौधरी छन्।
चौधरीकी श्रीमती करुणा ३१ लाख २७ हजारको ग्रावेलको उपभोक्ता समितको अध्यक्ष छिन्। चौधरीलाई सम्पर्क भएन्। उनीहरुले सुनपाल सामुदायिक वनले गरेको ग्रावेल देखाएर भुक्तानी लिएपछि स्थानीयले विरोध जनाएका हन्। वडा अध्यक्ष तुलाराम सापकोटाले उपभोक्ता समितिले बद्मासी गरेको देखिएकाले छानबिन भइरहेको बताए।