दार्चुलास्थित उकु महलका भग्नावशेष (फोटो फिचर)
दार्चुला: दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–७ मा अवस्थित उकु महल सुदूरपश्चिम नेपालको महत्वपूर्ण पुरातात्त्विक स्थलमध्ये एक मानिन्छ। इतिहासकार र स्थानीय अध्ययनकर्ताका अनुसार यो महल कत्युरी शासनकाल (करिब ९औँ–१२औँ शताब्दी) सँग सम्बन्धित रहेको अनुमान गरिएको छ। उकु क्षेत्र तत्कालीन समयमा प्रशासनिक र राजनीतिक केन्द्रका रूपमा प्रयोग भएको विश्वास गरिन्छ।
पुराना तस्बिरहरूमा देखिने महलका ढुंगाका पर्खाल, कोठाजस्ता संरचना र फैलिएको भग्नावशेषले यहाँ योजनाबद्ध दरबारी संरचना रहेको पुष्टि गर्छ। प्रयोग गरिएका ठूला ढुंगा, मिलाएर राखिएको निर्माण शैली र खुला प्रांगणको स्वरूपले उकु महल सामान्य आवासीय भवन नभई शासकीय महल भएको संकेत दिन्छ। तस्बीरहरुः
तस्बीर सौजन्यः मान सिंह धामी (सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस)
कतिपय तस्बिरहरूमा मूर्तिका अवशेष, ढुंगामा कुँदिएका आकृति तथा संरचनात्मक अवशेष देखिन्छन्। यी प्रमाणहरूले उकु महल राजनीतिक मात्र होइन, धार्मिक तथा सांस्कृतिक गतिविधिको केन्द्रसमेत हुनसक्ने देखाउँछन्। पुरातत्त्व विभागका प्रारम्भिक अध्ययनहरूमा यहाँबाट ऐतिहासिक महत्वका ढुंगा र संरचनात्मक सामग्री फेला परेको उल्लेख छ। समयसँगै संरक्षणको अभाव, प्राकृतिक क्षय र मानवीय गतिविधिका कारण उकु महलका धेरै भाग नष्ट भइसकेका छन्। तर अनलाइनमा उपलब्ध यी पुराना तस्बिरहरूले महलको वास्तविक स्वरूप र ऐतिहासिक गहिराइ बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छन्। यी तस्बिरहरू आज उकु महलको इतिहास बुझ्ने मुख्य दृश्य प्रमाण बनेका छन्।दार्चुला को यो ऐतिहासिक सम्पदा संरक्षण र गहिरो अध्ययनको पर्खाइमा छ। पुराना तस्बिरहरूले स्पष्ट देखाउँछन् । उकु महल केवल भग्नावशेष होइन, सुदूरपश्चिमको हराउँदै गएको इतिहासको एउटा ठोस प्रमाण हो।