सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैं–तिहार लक्षित कैलालीमा बजार अनुगमन तीव्र

२०८३ असोज १३, ०४:४४ लक्ष्मण ढुङ्गाल

कैलाली: कैलालीमा दशैं, तिहार तथा छठपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारिएको छ। चाडपर्वका बेला उपभोक्ता बढी ठगिने तथा म्याद नाघेका र गुणस्तरहीन वस्तुको बिक्री–वितरण हुन सक्ने भएकाले विभिन्न निकायको समन्वयमा बजार अनुगमन बढाइएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीको संयोजनमा वाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय, स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, स्थानीय तहलगायतका निकायले बजार अनुगमन गरिरहेका छन्।

अनुगमनका क्रममा खाद्य पसल, किराना, डेरी, होटल तथा रेष्टुरेन्ट, तरकारी तथा फलफूल पसल, कपडा पसललगायत उपभोक्ताको प्रत्यक्ष पहुँच हुने क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

वाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख तारामान रावलका अनुसार चाडपर्वका समयमा उपभोक्ता ठगिने र गुणस्तरहीन वस्तुको बिक्री–वितरण हुने सम्भावना बढी हुने भएकाले अनुगमनलाई तीव्र पारिएको हो।

रावलका अनुसार नियमित कार्यतालिकाअनुसार असोज महिना सुरु भएदेखि नै सम्बन्धित निकायले बजार अनुगमनलाई बढाएका छन्। चाडपर्वका समयमा मात्रै नभई अन्य समयमा पनि उपभोक्ताबाट गुनासो आउने क्रम बढेकाले नियमित रूपमा अनुगमन भइरहेको उनले बताए।

कैलालीसँगै कञ्चनपुर तथा सुदूरपश्चिमका अन्य जिल्लामा समेत अनुगमन भइरहेको जनाइएको छ। अनुगमनका क्रममा कैफियत भेटिएमा सम्बन्धित कानुनअनुसार कारबाही तथा आवश्यक प्रक्रिया अघि बढाइने रावलले बताए।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षमा हालसम्म १२ वटा उजुरी सम्बोधन गरिसकेको जनाएको छ। कार्यालयले खाद्य उद्योग, डेरी, किराना पसल, होटल तथा रेष्टुरेन्ट, ठेला पसललगायतका क्षेत्रमा अनुगमनलाई बढाएको छ।

कार्यालयकी प्राविधिक सहायक सृजना चौधरीका अनुसार साउनदेखि असोज १२ गतेसम्म कैलालीमा १ सय २१ वटा स्थानमा अनुगमन गरिएको छ।

अनुगमनका क्रममा म्याद नाघेका वस्तु, पटक–पटक एउटै तेल प्रयोग गरी तारेका खाद्य पदार्थ, मासुमा रौँ भेटिएका तथा मिठाईमा कैफियत देखिएका वस्तु नष्ट गरिएको उनले बताइन्।

अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका वस्तु बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिइएको छ। साथै, उपभोक्तालाई पनि सामान खरिद गर्दा उत्पादन तथा म्याद सकिने मिति, मूल्य र गुणस्तरबारे ध्यान दिन तथा कुनै कैफियत भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस