अपेनद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ लाख ११ हजार आर्थिक सहयोग
काठमाडौं: एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन)ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
अपेनका नगर, जिल्ला, प्रदेश तथा केन्द्रीय कार्यसमितिले स्वेच्छिक रूपमा संकलन गरेको रकम राहत कोषमा जम्मा गरिएको हो। संस्थाका अनुसार सहयोग रकम संकलन गर्दा बालबालिका, अभिभावक, शिक्षक तथा कर्मचारीलाई कुनै आर्थिक भार नपर्ने गरी संस्थागत रूपमा रकम जुटाइएको हो।
भोटेकोशी बाढी प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको अपेनले जनाएको छ। विपद्को कठिन अवस्थामा पीडित परिवारको दुःखमा साथ दिन सहयोग गरिएको संस्थाको भनाइ छ।
सहयोगका लागि अपेनले नगर, जिल्ला, प्रदेश तथा केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिएको छ। संस्थाले विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको साथमा उभिने प्रतिबद्धता जनाएको छ।