भीरमा विलायो विहेको उत्साह, पुरिँदैन घाउ सायद जीवनभर
बैतडीः बिहीबार साँझ पुर्चौडी नगरपालिका–७ बडागाउँको मोडमा जन्ती बोकेको बस भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । दिनभरको विहेको उत्साह बोकेको यात्रा केही क्षणमै शोकमा बदलियो । तर यही भयावह क्षणबीच एक जनाको जीवन उतिसको रुखमा अड्किएर बच्न पुग्यो ।
पुर्चौडी–७ भवनेका अमरराज जोशीका लागि त्यो क्षण जीवन र मृत्युबीचको सिमाना थियो । उकालो मोडमा अगाडि नबढेको बस एक्कासी ब्याक हुँदा उनले ढोकाबाट हाम फाले । आफू कसरी हाम फाले, कसरी उतिसको रुख अँगालो हाल्न पुगेँ आज पनि उनलाई स्पष्ट सम्झना छैन । तर त्यही रुखले उनको सास थामिदियो ।
रुखमा अड्किएर तल हेर्दा बस भिरतिर खसिसकेको दृश्य अझै पनि उनका आँखाबाट हटेको छैन । आफ्नै आँखाअगाडि आफन्त र इष्टमित्रहरूलाई गुमाउनु परेको पीडा उनले शब्दमा व्यक्त गर्न सकेनन्।
जोशीका अनुसार भवने बसपार्कबाट बस हिँडेको करिब १० मिनेट मात्रै भएको थियो । “म र मेरा दुवै भतिजाहरू भतिजी (दुलही) पुर्याउन गएका थियौँ । जेठो भतिजा दिदीसँग जीपमा थियो । जीपमा ठाउँ नपुगेर कान्छो भतिजो र म बसमा चढ्यौँ,” उनले सम्झिए ।
उनी ढोकानिर उभिएका थिए । मोडमा उकालो चढ्दा बस रोकियो । “एकचोटी ब्याक गर्याे, केही भएन । फेरि अगाडि बढाउँदा मोड्न सकेन । त्यसपछि फेरि ब्याक गयो । तल गाडी रोकिने ठाउँ थिएन । बस भिरतिर जान्छ भन्ने लागेपछि मैले दुई–तीन जनालाई उछिनेर ढोकाबाट हाम फालें र उतिसको रुख अँगालो हालेँ । भगवानको कृपाले ज्यान बच्यो,” उनले स्तव्ध हुँदै दिनेश खबरसंग भने ।
जोशीका अनुसार त्यो मोड ठूलो भए पनि गाडीको कटिङ नपुग्ने अवस्था थिएन । “यो लापरबाही चालककै देखिन्छ,” उनले भने, “सुरुमै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । मलाई शंका लागेको थियो । चालकलाई ‘गाडी किन हल्लिएको’ भनेर सोधें । तर उहाँ केही बोल्नु भएन।”
जन्तीले खचाखच भरिएको बसमा बेहुला–बेहुली दुवैपट्टीका आफन्त, छरछिमेकका मानिसहरू सवार थिए । गीत–संगीत र रमाइलोले भरिएको त्यो यात्रा एकाएक शोकमा परिणत भयो । दुर्घटनामा घाइते भएका अर्का कमलप्रसाद जोशीलाई भने धेरै कुरा सम्झना छैन । “बस उकालोमा एक्कासी ब्याक भएको याद छ,” उनले भने, “त्यसपछि होस आउँदा झन्डै दुई सय मिटर तल थिएँ ।” उनको हाल धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
ज्यान गुमाउने १३ जनामध्ये एक दुलही पक्षका पनि छन् । दुलहीका सहोदर भाइ सुशील जोशीको दुर्घटनामा मृत्यु भएको छ । यस्तै दुलहाका बुवा शंकरदत्त जोशी पनि दुर्घटनामा घाइते भएका छन् ।
यसैबीच बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले घटनास्थलमै पुगेर प्रारम्भिक अनुसन्धान भइरहेको बताएका छन्। “प्रारम्भिक रूपमा गाडी उकालो चढ्न नसकेर पछाडि सरेको र नियन्त्रण गुमाएर खसेको देखिन्छ,” उनले भने, “चालक हाम्रो नियन्त्रणमै छन् । ब्रेक नलागेको बताएका छन् । मापसे गरेको अहिलेसम्म खुल्न आएको छैन । अन्य लागूपदार्थ सेवन गरेको वा नगरेको विषयमा थप अनुसन्धान भइरहेको छ ।” उनले भने।
दर्जनौँ परिवारको आँगन सधैंका लागि सुनसान बनाएको उक्त घटनाले बैतडी र बझाङ शोकमा डुबेको छ। पुर्चौडी–७ भवनेबाट दुलही लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा बैतडी र बझाङका गरी १३ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइतेहरू अहिले पनि अस्पतालको शय्यामा पीडा र प्रार्थनाबीच संघर्षरत छन् ।
यो दुर्घटनाले पुर्चौडी मात्र होइन, सिंगो सुदूरपश्चिमलाई शोकमा डुबाएको छ । तर पीडित परिवारहरूको मनमा परेको घाउ पुरिँदैन, सायद जीवनभर।