कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा यस वर्ष पनि जाँत ९मेला० लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन आयोजना हुने जाँत मेला यस वर्ष माघ ११ गते लाग्ने भएको हो ।
जाँत मेलाअघि पञ्चमीका दिन माघ ९ गते ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका–१२ बड्डीमछेली ९कुमीझाल० मा मेला लाग्ने स्थानीय जीवनराज भट्टले जानकारी दिए । त्यसको भोलिपल्ट माघ १० गते राति रतेडी हुने र माघ ११ गते मालुबेलास्थित ग्वासी समैजी देवस्थलमा मुख्य जाँत मेला आयोजना गरिने उनले बताए ।
यस मन्दिरमा लाग्ने मेलामा कञ्चनपुर र कैलालीका साथै डोटी र डडेल्धुराबाट समेत श्रद्धालु तथा दर्शनार्थीहरू सहभागी हुने गरेका छन् । यहाँ दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको छ ।
ग्वासी समैजी मन्दिर कृष्णपुर नगरपालिका गुलरिया बजारबाट करिब ७ किलोमिटर उत्तरतर्फ अवस्थित छ । यसैबीच मन्दिरको विकासका लागि चैत ६ गतेदेखि १६ गतेसम्म शिव महापुराण तथा महारुद्र विराट महायज्ञ आयोजना गरिने जनाइएको छ ।