सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाता बढी
चौमाला: सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी रहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अद्यावधिक मतदाता विवरणअनुसार प्रदेशमा महिला मतदाता ८ लाख ६४ हजार ४२३ र पुरुष मतदाता ८ लाख ५२ हजार २१९ रहेका छन्। यसका अतिरिक्त १८ जना अन्य मतदाता पनि छन्। यसरी पुरुषभन्दा महिला मतदाता १२ हजार ४०२ ले बढी छन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशभरि कुल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन्। विसं २०७९ को निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता रहेकामा हाल ४७ हजार २४९ मतदाता थपिएका छन्।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कैलालीमा ५ लाख ५१ हजार ५२, कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, बैतडीमा १ लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन्।
त्यसैगरी डडेलधुरामा ९३ हजार ४०३, बझाङमा १ लाख २६ हजार ९०३, अछाममा १ लाख ६५ हजार ३३७, डोटीमा १ लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ मतदाता छन्।
प्रदेशभरि १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।