फागुन २१ को प्रतिनिधि सभा निर्वाचन: आज मध्यरातिदेखि मौन अवधि लागू
काठमाडौँः फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदान प्रक्रिया सम्पन्न नभएसम्म यो अवधि कायम रहनेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मौन अवधि लागू गरिएको हो। यसअघि आज दिनभर राजनीतिक दल र उम्मेदवारहरू अन्तिम चुनावी सभा तथा प्रचारप्रसारमा व्यस्त देखिएका छन्।
मौन अवधिको प्रमुख लक्ष्य मतदातालाई शान्त र स्वतन्त्र रूपमा निर्णय लिन समय उपलब्ध गराउनु हो। साथै उम्मेदवार तथा समर्थकबीच हुन सक्ने सम्भावित विवाद वा झडपलाई रोक्ने उद्देश्य पनि यससँग जोडिएको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार मतदानअघि मतदातामाथि कुनै अनुचित प्रभाव नपरोस् र उनीहरू बिना त्रास मतदान केन्द्रसम्म पुग्न सकून् भन्ने सुनिश्चित गरिन्छ।
निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, कार्यशाला वा अन्तर्क्रिया गर्न नपाइने स्पष्ट पारेका छन्। निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा सबै किसिमका प्रचारप्रसार गतिविधि पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था छ।
भौतिक रूपमा मात्र नभई सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म वा छापा माध्यममार्फत कसैको पक्ष वा विपक्षमा मत माग्ने, सन्देश पठाउने वा प्रचार सामग्री सेयर गर्ने कार्यसमेत निषेध गरिएको छ।
आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३ सय मिटर वरिपरि रहेका सबै प्रकारका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। मौन अवधि उल्लंघन गरी मतदातालाई प्रभावित पार्ने गतिविधि गरेमा निर्वाचन ऐन तथा आचारसंहिताअनुसार कारबाही गरिने आयोगले जनाएको छ।