पहाडमा आज फागुपूर्णिमा हर्षोल्लासका साथ मनाइँदै, तराईमा भोलि होली
धनगढीः फागुपूर्णिमा अर्थात् होली पर्व आज देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेर आउने प्राचीन परम्परा हो। आज विभिन्न स्थानमा एकआपसमा रङ, अबिर र लोला खेल्दै उल्लासपूर्वक पर्व मनाउने क्रम जारी छ।
होली पर्वसँग जोडिएको धार्मिक कथाअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपु ले विष्णुभक्त आफ्ना पुत्र प्रह्लाद लाई मार्ने उद्देश्यले आगोले नछुने वरदान पाएकी बहिनी होलिका सँग दन्किरहेको आगोमा बस्न लगाए। तर होलिका नै भष्म भइन् र प्रह्लादलाई आगोले केही गर्न सकेन। शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमाथि सत्य र भक्तिको विजय भएको प्रतीकका रूपमा त्यसैबेलादेखि होली खेल्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
यस्तै, द्वापरयुगमा कंस ले श्रीकृष्ण लाई मार्न पठाएकी राक्षसनी पुतना विष दलिएको स्तन चुसाउन खोज्दा असफल भई मारिइन्। व्रजवासीले उनलाई दाहसंस्कार गरी उत्सव मनाएको प्रसङ्ग पनि फागु पर्वसँग जोडिएको धर्मग्रन्थहरूमा उल्लेख छ।
परम्पराअनुसार प्राकृतिक र सुरक्षित रङ तथा अबिरको प्रयोग गरी होली खेल्ने चलन छ। यस्ता रङले छालासम्बन्धी समस्या कम गर्न सहयोग गर्ने विश्वास समेत रहिआएको छ।
फागु पर्वका अवसरमा सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ। पहाडी जिल्लामा आज होली मनाइँदैछ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट पर्व मनाउने परम्परा अनुसार यस वर्ष मङ्गलबार होली मनाइँदैछ। तराईका जिल्लामा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ।