टिकटकमा बालेन शाहमाथि गोली प्रहारको झुटो हल्ला फैलाउने युवक पक्राउ
काठमाडौँः काठमाडौँमा सामाजिक सञ्जाल टिकटकमार्फत बालेन शाहमाथि झापामा गोली प्रहार भएको भन्दै झुटो र भ्रामक सूचना फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भई हाल काठमाडौँ बस्दै आएका २३ वर्षीय प्रकाश भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ। भट्टले टिकटकमा आक्रमणसम्बन्धी भ्रामक पोस्ट सार्वजनिक गरी समाजमा नकारात्मक सन्देश फैलाएको र सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको प्रहरीको ठहर छ।
उनीलाई फागुन १५ गते दिउँसो काठमाडौँ महानगरपालिका–५ स्थित डबली चोकबाट प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका भट्टमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ।