सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा भेटियो नयाँ चरा ‘रातोकण्ठे डुबुल्की’

२०८२ पुष १८, ०२:४१ खबर संवाददाता

काठमाडौँ: नेपालमा नयाँ प्रजातिको चरा ‘रातोकण्ठे डुबुल्की चरा’ फेला परेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा यो चरा पहिलो पटक अभिलेख गरिएको हो।

कृषि तथा वन विश्वविद्यालय, हेटौंडामा स्नातक अध्ययनरत सुगम गुरागाईं र सुस्मिता चौधरीले शैक्षिक भ्रमणका क्रममा उक्त चरा देखेर फोटो र भिडियो खिचेका थिए। समुद्री सतहदेखि ६ सय ५६ मिटर उचाइमा रहेको तालमा यसअघि नदेखिएको चरा देखेपछि अभिलेख गरिएको गुरागाईंले बताए।

तस्बिर र भिडियो पन्छी संरक्षण संघ (बीसीएन)मा पठाइएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छी विज्ञसँग परामर्श गरी नेपालका लागि नयाँ चरा भएको पुष्टि गरिएको बीसीएनका अध्यक्ष विमल थापाले जानकारी दिए। उक्त चरा गत असोज २९ गते बिहान देखिएको भए पनि पहिचान प्रक्रियाका कारण ढिलो सार्वजनिक गरिएको हो।

रूपरंगका आधारमा बीसीएनले यसलाई नेपाली नाम ‘रातोकण्ठे डुबुल्की चरा’ दिएको छ। यससँगै नेपालमा अभिलेख भएका चराको संख्या ९ सय ३ पुगेको छ भने डुबुल्की चराका प्रजाति ४ पुगेका छन्। विश्वमा डुबुल्की चराका २२ प्रजाति पाइन्छन्।

यो फिरन्ते चरा हो, जुन उत्तर अमेरिका, युरोप र उत्तरी एसियामा पाइन्छ। भारत, पाकिस्तान र बंगलादेशमा पनि फिरन्तेका रूपमा यसको अभिलेख छ। नेपाल पन्छीविद् संघले पनि यो चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेको छ।

चराविद् हेमसागर बरालका अनुसार नयाँ चराको अभिलेखसँगै कर्णाली प्रदेश चरा अध्ययन र पर्यटनको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। “यसअघि हुम्लामा कालीकण्ठे सारसले बच्चा कोरलेको रेकर्ड आएको थियो, अहिले नयाँ चरा भेटिनु कर्णालीमा चरा पर्यटनको सम्भावना बढेको संकेत हो,” उनले भने।
 

कमेन्ट लोड गर्नुस