सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको औद्योगिक कर्जा बढ्यो, उत्पादन घट्यो

२०८२ मंसिर ७, ०३:५२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा औद्योगिक कर्जा वृद्धि हुँदै गए पनि उत्पादनमा उल्लेखनीय ह्रास आएको आर्थिक गतिविधि अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार प्रदेशमा औद्योगिक कर्जा ४.३७ प्रतिशतले बढे पनि गहुँको पीठो ६५.०९%, चिनी ६०.२२%, इँटा ४२.८६%, साबुन २३.८२%, चामल १५.२५%, रोजिन ६.८६%, कंक्रिट ६.५९% र तोरीको तेल ४.३५% ले घटेको छ।


बजारमा आएको शिथिलताका कारण समग्र कर्जाको माग कमजोर भए पनि २०८१ असारको तुलनामा २०८२ असारसम्म औद्योगिक कर्जा २६ अर्ब ७२ करोड ३ लाख पुग्दै ४.३७% वृद्धि भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा विप्रवाह ४.७९% ले घटेको थियो। प्रदेशमा कुल कर्जाभित्र औद्योगिक कर्जाको हिस्सा १६.९७% रहेको छ।


औद्योगिक कर्जाको संरचनामा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा कर्जा सबैभन्दा बढी ६७.५५% ले बढेको छ भने खानी उद्योगमा ३७.८३% ले ह्रास आएको छ। कृषि, वन तथा पेय पदार्थ उद्योगमा ४२.७१%, गैर–खाद्य उद्योगमा २६.०५%, निर्माण उद्योगमा २०.२१%, धातु, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८.९२%, विद्युत्–ग्यास–पानी उद्योगमा १.६३% र खानी उद्योगमा ०.४८% हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ।


कुल औद्योगिक कर्जामध्ये जिल्लागत रूपमा कैलालीको हिस्सा सबैभन्दा बढी ७९.१३% छ। त्यसपछि कञ्चनपुर १५.७३%, डडेल्धुरा १.५४%, डोटी १.०३%, अछाम ०.६०%, बैतडी ०.५९%, दार्चुला ०.४८% र बझाङ ०.४६% रहेका छन्। बाजुराको हिस्सा ०.४४% मात्र रहेको छ।
 

कमेन्ट लोड गर्नुस