भाेली बस्ने संसद्काे पहिलाे बैठकका लागि कार्यसूची तय
काठमाडौं: २१ फागुनको निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची बुधबार सर्वदलीय बैठकले तय गरेको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बसेको बैठकमा पाँच बुँदे कार्यसूची तय गरिएको हो।
पहिलो बैठकमा अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ। सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सभाको अध्यक्षता गर्नेछन्। त्यसपछि राजनीतिक दलका शीर्ष नेताहरूले संसदमा शुभकामना र सन्देश दिने अभ्यास जारी रहनेछ।
सर्वदलीय बैठकमा सहमतिअनुसार सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ भने मनोनयन दर्ता चैत २० गते हुनेछ। यदि एकमात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा गरिनेछ, एकभन्दा बढी भए बहुमतका आधारमा निर्णय हुनेछ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नुपर्ने नियम रहेको छ।
बैठकमा अघिल्लो सरकारले जारी गरेका तीनवटा अध्यादेश टेबुल गर्ने तयारी पनि गरिएको छ। ती हुन् – प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ र मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२। संविधानको धारा ११४ अनुसार, अध्यादेश जारी भए पनि दुवै सदनमा पेश गरिनुपर्नेछ। यदि ६० दिनभित्र पारित नभएमा ती स्वतः निष्क्रिय हुनेछन्।
सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नबन्दासम्म पुरानै नियमअनुसार सञ्चालन गर्ने सहमति पनि जुटाएको छ।