मोहना नदी किनारको जग्गा विवाद टुंगियो, आपसी सहमतिमा मेलमिलाप
धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने मोहना नदी किनारको जग्गा ठेक्का सम्बन्धी विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ। बुधबार गरिएको मेलमिलाप तथा दोहोरो सहमति पत्रमार्फत शारदा माध्यमिक विद्यालय धनगढी र ठेकेदार चन्द्र चौधरीबीच सहमति भएको हो।
विद्यालय व्यवस्थापन समितिको पूर्व निर्णयअनुसार गरिएको जग्गा भाडा तथा ठेक्का सम्बन्धी विषयमा उत्पन्न विवाद समाधान गर्न दुवै पक्षबीच विस्तृत सहमति गरिएको प्रधानाध्यापक तेजबहादुर सिंहले बताए। सहमति अनुसार विगत आर्थिक वर्षको बाँकी रकम १० हजार २२० रुपैयाँ र चालु वर्षको पहिलो किस्ता ५५ हजार रुपैयाँ ठेकेदार चौधरीले विद्यालयलाई तत्काल भुक्तानी गर्ने सहमति भएको प्रधानाध्यापक सिंहले बताए।
त्यसैगरी, उपमहानगरपालिकाबाट प्राविधिक मापन गरी वास्तविक क्षेत्रफल निर्धारण भएपछि सोही आधारमा वार्षिक भुक्तानी समायोजन गरिने सहमति गरिएको छ। साथै, उक्त जग्गा ठेक्का सम्बन्धी सम्झौता कार्यान्वयनमा पहिलो र दोस्रो पक्ष नै मुख्य रुपमा जिम्मेवार हुने सहमति भएको हो।
सहमति पत्रमा ठेकेदार पक्षले जग्गामा लगाएको बालीका कारण बालुवा, गिट्टी तथा ढुंगा उत्खननमा समस्या आएको उल्लेख गर्दै अब सम्बन्धित क्षेत्रमा समन्वय गरी काम अगाडि बढाइने सहमति समेत गरिएको छ।
यसैगरी, भविष्यमा सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत एकअर्का विरुद्ध आरोप-प्रत्यारोप नगर्ने र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको प्रधानाध्यापक सिंहले बताए।
उक्त सहमति पत्रमा विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंह, वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर, ठेकेदार चन्द्र चौधरी, स्थानीय समाजसेवी केआईसिंह चौधरी लगायत सम्बन्धित सरोकारवालाको रोहवरमा सहमति गरिएको हो।