खेल क्षेत्रलाई प्राथमिकता साथ अगाडि बढाउँछौं: मुख्यमन्त्री शाह
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कैलालीको बौनियाँमा मङ्गलबार आयोजित फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदको विकासका लागि स्पष्ट नीति, योजना र खाका तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।
मुख्यमन्त्री शाहले खेलकुद केवल मनोरञ्जनका लागि नभई राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
“नेपाललाई विश्वमै चिनाउने शक्तिशाली माध्यम खेलकुद हो। त्यसैले तीनै तहका सरकारले खेल क्षेत्रको विकासमा पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता छ,” उनको भनाइ थियो।
उनले खेलकुदले युवा शक्तिलाई अनुशासन, स्वास्थ्य, नेतृत्व क्षमता र सकारात्मक दिशामा अघि बढाउन सहयोग गर्नेबताउँदै प्रदेश सरकारले आगामी दिनमा खेल संरचना, प्रशिक्षण, प्रतियोगिता र खेलाडी हकहितका कार्यक्रमलाई अझ सुदृढ बनाइने जानकारी दिए।