सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यविधि र पूर्वाधारका कारणले खेल रोकिदैन, ‘साग’ निर्धारित समयमै हुन्छ : राखेप सचिव सिलवाल

। फोटो स्रोत ।
२०७६ साउन ११, ०७:३५

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता–‘साग’ निर्धारित समयमा नै हुने भन्दै शंका नगर्न आग्रह गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पूर्वाधारका कारणले खेल नरोकिने बताए।

उनले केही खेलका लागि वैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पूर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पार्दै प्रतियोगिता गर्न राष्ट्रले प्रतिबद्धता जनाइसकेकाले कुनै पनि बहानामा त्यसबाट पछि हट्न नमिल्ने बताए। उनले सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भए पनि त्यसबारे सम्बन्धित निकायमा आफूले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत् गएर भए पनि प्रतियोगिता सञ्चालन गरिने बताए। यस्तै प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको पनि जानकारी दिए।

रंगशाला निर्माण, रंगशालासम्मको सडक विस्तारलगायत खेलका पूर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढिरहेको छ। यही सन्दर्भमा नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि बहानामा नरोकिने बताएका हुन्। 

कमेन्ट लोड गर्नुस