बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चितुवाको त्रास बढेको छ। पासोमा परेको चितुवा पासो चुँडालेर भागेपछि स्थानीयहरु चितुवाले आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका हुन्।
दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाडमा सोमवार रातिको समयमा चितुवा पासोमा फसेको थियो। बालीनाली जोगाउन जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको स्थानीयहरुले बताएका छन्। सोमवार राति फलामको तारको पासोमा फसेको चितुवा समयमै उद्धार हुन नसक्दा पासो चुँडालेर भागेको छ। चितुवाको घाँटीमा पासो परेको थियो। उक्त चितुवाको घाँटीमा ठूलो घाउ भएकाले घाइते चितुवाले आक्रमण गर्न सक्ने भन्दै स्थानीयहरुमा त्रास बढेको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उद्धार टोली ढिलो आएका कारण चितुवा भागेको स्थानीय मनोज बोहराले बताए। घाइते चितुवा भागेकाले आक्रमणको डर भएको उनले बताए। पासोमा परेर घाइते भएको चितुवा भागेकाले स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। यसअघि गएको असोज ११ गते दशरथचन्द नगरपालिका–१ खालमा चितुवा पासोमा परेको थियो। उक्त चितुवा पनि भोलिपल्ट असोज १२ गते पासो चुँडालेर भागेको थियो।