कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग ३ विकेटले पराजित
काठमाडौंः कप्तान करन केसीको शानदार ब्याटिङमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हराएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान करनको विस्फोटक ब्याटिङमा काठमाडौंले कर्णालीलाई तीन विकेटले हराएको हो। कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले तीन बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो।
तल्ला क्रमका ब्याट्सम्यान करनले १० बलमा २८ रन बनाउँदै काठमाडौंलाई जित दिलाए। करनले २ चौका र २ छक्काको मदतले सो रन बनाएका थिए। काठमाडौंका सुमित महर्जनले नटआउट ४० रनको सम्झनलायक ईनिङ्स खेले। गेर्हाड इरासमसले ३८ रनको महत्वपुर्ण ईनिङ्स खेलेका थिए।
मिचेल लेविटले २२ रनको योगदान गरे। कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुलसन झा, जिसान मसुद र विपिन शर्माले समान एक एक विकेट लिए। सुरुवाती ब्याटिङ गरेको कर्णालीले ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।
भारतीय स्टार शिखर धवनले ७२ रनको शानदार ईनिङ्स खेलेका थिए। अन्य ब्याटरको खासै राम्रो प्रर्दशन रहन सकेन। जित सहित काठमाडौंले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। अलराउन्डरले भरिएको कर्णाली दुबै खेलमा पराजित भएको छ।