सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘स्वायत्तता दिएपछि अंकुश लगाउन भएन’

२०८१ मंसिर ११, ०५:४२

स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल कामकै कारण चर्चामा छन्। काम र कार्यशैलीका कारण अन्य स्वतन्त्र मेयरहरू विवादमा आइरहँदा उनको काममा भने धेरै विवाद आएको सुनिदैन। चुनाव जितेपछिको उनको कार्यकाल र धनगढी उपमहानगरपालिकामा हमालले गरेका प्रयासहरूबारे गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंको दिनचर्या अचेल कस्तो छ?
दिउँसो कार्यालयको समय नबिग्रियोस् भनेर हामी बिहानको समयमा बैठक गछौँ। विभागीय बैठक हुन् वा विभिन्न अतिथि–संघसंस्थासँगका। कतिपय कुराहरु चाहिँ दिउँसो नै गर्नुपर्ने हुन्छ। दिउँसो कार्यालयका नियमित कामहरू, विकास निमार्णका कामहरू हुन्छन्। भेट्न आउने सेवाग्राहीलाई भेट्ने, उहाँहरूको कुरा सुनेर सक्ने सम्बोधन गर्ने।
स्वतन्त्र मेयरहरूलाई काम गर्न असजिलो छ भन्ने सुन्ने गर्छौँ। तपाईं स्वतन्त्र मेयर, अनुभव के छ?
‘हामी किनारका दुई किनारा, हाम्रो मिलन असम्भव छौँ।’ भन्ने गीत जस्तै, उत्तर र दक्षिण ध्रुव भन्या जस्तै छ। हाम्रो प्राथमिकता फरक छ। राजनीतिक पार्टीबाट आउनुभएको जनप्रतिनिधिहरू पार्टीको निर्देशन अनुसार हिँड्नुपर्ने हुन्छ। उहाँहरू त्यो हिसाबले दीक्षित हुनुहुन्छ। म आफ्नो कुरा गर्छु। मेरो त कार्यकर्ता पनि छैन। पार्टी पनि छैन।

मैले हेर्ने भनेको धनगढीको जनतालाई के गर्दा फाइदा हुन्छ? अरु जनप्रतिनिधिले हेर्दा हाम्रो पार्टीलाई के फाइदा हुन्छ? हाम्रो कार्यकर्तालाई के फाइदा हुन्छ? स्पष्ट विभाजन यहीँबाट सुरु हुन्छ। अरु ठूलो कुरा केही हैन। यही सोचबाट हाम्रा प्राथमिकताहरू अलग–अलग देखिन्छन् र द्वन्द्व सिर्जना हुन्छ।
यो द्वन्द्वलाई तपाईंले कसरी व्यवस्थापन गर्दै आउनु भएको छ?
विषयहरूलाई जनताको बिचमा ल्याएपछि जनता आफैँ बोल्न थाल्छन्। जस्तो, हाम्रो धनगढीमा विपन्न परिवारले शव जलाउन दाउरा किन्ने पैसा नभएपछि टायर बालेर शव जलाउँदै आएका थिए। हामीले टायर जलाएर धनगढीको नागरिकको शव जलाउन नपरोस् भनेर दाह–संस्कार खर्च शीर्षक कायम गर्यौँ। र, मृत्युको खबरको फोन आउन बित्तिकै हामी नगद घरमानै लगेर दिन्छौं। हाम्रा कर्मचारीले पाँच हजार घरमा नै पुर्‍याउँछन्। सो सेवाको लागि कुनै झन्झट हुँदैन। अब यस्ता कुराहरूको कसरी विरोध गर्न मिल्यो त?
तपाईं बाहेक विशेषतः धरान, काठमाडौँमा पनि स्वतन्त्र मेयर हुनुहुन्छ। यहाँ कार्यपालिका बैठकमा नै मत बाझिएको कुरा आउँछ। तर, तपाईंको कार्यकालमा त्यस्तो कुरा आउँदैन, किन होला?
मलाई नबोलाई एउटा होटलमा हाम्रो धनगढीको कार्यपालिका बैठक नै अलग बस्यो। जेष्ठ सदस्यको अध्यक्षमा सबै सदस्य मिलेर यसरी बैठक बस्यो। र नगरपालिकाको अघिल्ला निर्णय नमान्ने निर्णय गर्यो। तर, यो कानुनी रुपमा त मिल्दैन। बैठक, नगरसभा बोलाउने अधिकार त मेयरलाई छ। हाम्रोमा पनि समस्या भएको छ। जनदबाब महत्त्वपूर्ण छ। यसले नै मलाई सजिलो भएको छ।
तपाईं मेयर भएको तीस महिना भएको छ। देशमा अरु स्वतन्त्र मेयर वा जनप्रतिनिधि पनि छन्। उहाँहरूसँग तपाईंले औपचारिक, अनौपचारिक भेट वा छलफल गर्नुभएको छ?
म मेयर भएपछि धेरैले सोध्थे । बालेन र हर्कसँग तपाईँको सम्पर्क छ कि छैन? चुनाव जितेपछि मैले बालेनजीलाई एक पटक १५ मिनेट भेटेँ। राष्ट्रिय सभागृह, जहाँ मेरा कार्यालयका कर्मचारी साथीहरू पनि हुनुहुन्थ्यो। हर्कजीलाई एकदिन मैले मन्त्रालयमा भेटेँ। म झर्दै थिएँ, उहाँ उक्लँदै हुनुहुन्थो। उहाँले त फोन र म्यासेजको रिप्लाइ पनि नदिनुहुँदो रहेछ।
तपाईँलाई के लाग्छ, राजनीतिक दलबाट आएका जनप्रतिनिधिले राम्रो काम गर्नुभएको होला?
राम्रो काम गर्ने हुनुहुन्छ। म ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सम्झन्छु। उहाँ आफूले जानेको कुरा अरुलाई पनि बताउनु हुन्छ। असाध्यै राम्रो काम गर्नुभएको छ। अरुले नि काम गर्नुभएको छ। एउटै समस्या के हो भने दलबाट आएका मान्छेलाई पार्टीको जुन दबाब हुन्छ नि, त्यो सबैले खप्न सक्दैन। दलबाट आएकालाई भोलि टिकट त्यही दल र नेताहरूसँग माग्न जानुपर्छ। उसले स्वतन्त्र रुपमा काम गर्न सक्दैन। स्वतन्त्रहरू त्यो जन्जालबाट मुक्त छौँ।
स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई संघीय सरकारबाट सहयोग छ?
जुन परिकल्पनाले स्थानीय तह खडा भयो। यो त सरकार हो नि केन्द्र, प्रदेश र स्थानीयसहित तीन सरकार हाम्रो संविधानले परिकल्पना गरेको छ। अहिले पनि उहाँहरूको दिमागमा सरकार हैन, तह वा कार्यालय मात्र हो भन्ने सोच्छ। हामीलाई स्वायत्तता दिइसकेपछि अंकुश लगाउन त भएन नि हामीले पठाएका योजनाहरू आउँदैनन्। हाम्रो प्राथमिकतामा नभएको योजना मात्र आउँछ। 
तपाईंले चुनावमा भ्रष्ट राजनीतिलाई कल्याणकारी बनाउने भन्नुभएको थियो? अहिले त्यो नाराबाट के–के हासिल गर्नुभयो त?
हाम्रो नगरका नागरिकले रगत आवश्यक पर्‍यो भने पैसा तिर्नुपर्दैन। मृत्यु हुदाँ दाहसंस्कार खर्च पाँच हजार दिएका छौँ। नागरिकको स्वास्थ्य हेरेर निःशुल्क एम्बुलेन्स, स्वास्थ्य शिविर, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री दिने गरेका छौँ। विशेषज्ञ वडा क्लिनिक पनि सञ्चालनमा छ। हरघडी नगरप्रहरी नारासहित काम भइरहेको छ। जेष्ठ नागरिकलाई प्रत्येक वर्ष मुक्तिनाथ लगायतका ठाउँमा धार्मिक भ्रमण गराएका छौँ। शव सुरक्षित राख्ने चिस्यान नगरपालिकाले सञ्चालन गरेको छ। दुःख पर्दा नगरपालिका छ भन्ने महसुस जनतामा भएको छ जस्तो लाग्छ। हामीले आवश्यकताको आधारमा विकास योजना अघि बढाउन प्रोजेक्ट बैंक लागू गरेका छौँ।
अहिले फोहोर सबै स्थानीय तहलाई समस्याको विषय बनेको छ। तर तपाईँकोमा यो समस्या देखिन्न नि?
हामीले फोहोरलाई वर्गिकृत गरेर उठाउने गर्छोैँ । फोहोर नगर्ने बानी र जनचेतनाको विकास गराउनु महत्त्वपूर्ण विषय रहेछ। हामीले स्कुलका विद्यार्थीसहित समुदायहरूमा यो कुरा गरिरहेका छौँ। उहाँहहरूले नै धनगढीलाई सफा गरिरहनुभएको छ। डेढ लाख मानिस यसमा आबद्ध छन्। हामीले एउटा स्कुललाई ५ सय मिटरको घेरामा सरसफाइ र सचेतनाको जिम्मा दिएका छौँ। सरकारी र निजी स्कुललाई प्रोत्साहन गर्दै पाँच–पाँच लाखको उपहार सहित ट्रफी राखेका छौँ।

समुदायमा पनि पहिलो हुनेलाई १० लाख उपहार राखेका छौँ। विजेता हुनलाई विभिन्न सूचक बनाएका छौँ। कुनै पनि सहर फोहोर सफा गरेर सफा भएका हैनन्। फोहोर नगरेर सफा भएका हुन्। फोहोर नगरे सफा हुन्छ, फोहोर गर्नुहुन्न भन्ने सचेतना फैलाउन सक्नुपर्छ भन्ने लाग्छ। नगरमा प्लास्टिक र प्लास्टिकका मालाहरू निषेध गरेका छौँ। गुड्खा निषेध भएपछि सहर सफा गराउन यसले धेरै मद्दत गरेको छ।
धनगढीमा तपाईँले सुरु गरेका कामहरू कार्यकाल सकिएपछि पनि निरन्तरता पाउलान्?
हामी तोक लगाउने सिस्टममा छैनौँ। सबै कुरा सेवामा जोडेका छौँ। अब आउनेले नयाँ कुरा केही नगर्ला तर अहिलेका कार्यक्रम बन्द गर्ने साहस नगर्ला।
मेयरको कार्यकालपछि के सोच छ?
अहिलेसम्म त्यस्तो कुनै विचार छैन। कसैसँग संवाद पनि भएको छैन। व्यक्तिगत रुपमा शुभेन्छुकहरू तपाईँ अर्को पटक चुनाव लड्नु भन्नु हुन्छ। कसैले सुदूरपश्चिमको विकास गर्ने हो भने सुदूरपश्चिम केन्द्रित पार्टी खोल्नुपर्छ भन्ने सल्लाह सुझाव पनि दिनुभएको छ। यस्ता कुरा आइरहन्छन्। अझै २ वर्ष बाँकी छ। यो समयमा कस्तो परिस्थिति सिर्जना हुन्छ। मलाई अरु केही समस्या छैन। म व्यावसायिक मान्छे भएकाले आफ्नो रुटिनअनुसार हिँडेको बानी भयो। अब जनताको रुटिन अनुसार हिँड्नुपर्छ।

केही शारीरिक समस्या पनि छन्। प्रेसरको औषधि खाइरहेको छु। घरपरिवारबाट त यता नलागौँ भन्ने कुरा छ। उनीहरू राजनीतिक बेकार हो भन्न थालिसकेका छन्। हाम्रो परिवार राजनीतिक परिवार पनि हैन। मलाई जनताले सहयोग गर्नुभएको छ सडक बढाउँदा होस् वा वृक्षारोपणको काम गर्दा। राजनीति पेशा भयो भने भ्रष्टाचार हुन्छ, भ्रष्टाचार भयो सुशासन हुँदैन।

सुशासन भएन भने देश बन्दैन भन्ने मूल मन्त्रसहित राजनीतिमा होमिएको हुँ। म सेवा सुविधा लिन्न, लिएको पनि बाँड्छु। मैले यो देशलाई पाँच वर्ष समर्पण गर्छु भनेर आएको हुँ। पाँच वर्ष स्वयंसेवक बनेर बस्छु भनेर आएको हुँ। जनतालाई भनेको कुरा यही हो। अब परिस्थिति कस्तो सिर्जना हुन्छ। भविष्यको विषयमा आंकलन नगरौँ। नागरिक स्वतन्त्र अभियानमा भने सुदूरपश्चिममा लाग्छु।
बालेन, हर्क, गोपी मिलेर दल खोल्नुपर्छ भन्ने कुरा सामाजिक सञ्जालनमा आउँछ नि?
विसं २०८४ मा देशको अनुहार फेर्न स्वतन्त्र नागरिकहरूको आवश्यक छ।
साभारः कान्तिपुरबाट

कमेन्ट लोड गर्नुस