सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवका पाँच सय स्टलबाट १५ करोडको कारोबार हुने अनुमान

२०८१ मंसिर ११, ०८:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम महोत्सवमा १५ करोडको कारोबार हुने अनुमान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्षको मङ्सिर २२ गतेबाट सञ्चालन गर्दै आएको महोत्सवको १८ औँ संस्करणमा १५ करोडको कारोबार हुने अनुमान गरिएको हो।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सव स्थलमा पाँच सयको सङ्ख्यामा स्टलहरू निर्माण गरिएका छन। उक्त स्टलहरूबाट १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महोत्सवको तयारी ७० प्रतिशत पूरा भएको बताए।

सुदूरपश्चिम महोत्सवमा स्थानीय परिकार, थारू गाउँ लगायतका विशेषता रहेका छन। हालसम्म ९५ प्रतिशत स्टलहरू बुक भएका आयोजकले बताएको छ। महोत्सव सञ्चालनका लागि मूल आयोजक समितिसहित २९ उप–समितिहरू रहेका छन। व्यावसायिक कृषि प्रदर्शनी, उद्योग व्यापारको प्रवर्धन तथा कला, संस्कृतिको संरक्षण एवम् प्रवर्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए। यो वर्षको महोत्सवमा पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने विषय टुङ्गिएन

कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको सरकार प्रमुखले उद्घाटन गर्दै आएका छन। धनगढीमा सरकार प्रमुखलाई बोलाउने र मागको सङ्ख्यामा माला लगाउने चलन रहेको छ। तर, यो पटकको महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली आउने वा नआउने विषयमा टुङ्गो लागेको छैन। कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री चीन भ्रमणमा जाने भएकाले उक्त विषयमा टुङ्गो लगाउन बाँकी रहेको हो।

प्रधानमन्त्री ओली मङ्सिर २१ गते नेपाल फर्किने र २२ गते धनगढीमा महोत्सव उद्घाटनका लागि आउने विषयमा छलफल जारी रहेको अध्यक्ष कुँवरले बताए।

फरक क्षमता भएकालाई निःशुल्क प्रवेश

कैलाली उद्योग वाणिज्य संघले फरक क्षमता भएकालाई महोत्सवमा निःशुल्क प्रवेश दिने भएको छ। विद्यार्थीबाट ५० रुपैयाँ र सर्वसाधारणबाट प्रवेशको एक सय रुपैयाँ टिकेट लिने बताएको कैलाली उद्योग वाणिज्य संघले फरक क्षमता तथा जेष्ठ नागरिकबाट रकम नलिने बताएको हो।

टिकटको रकम सामाजिक काममा

कैलाली उद्योग वाणिज्य संघले महोत्सवको टिकट बिक्रीबाट आम्दानी भएको रकमको केही सामाजिक काममा प्रयोग गर्ने भएको छ। महिलाको आर्थिक, सामाजिक सशक्तीकरणको लागि प्रति टिकट २ रुपैयाँ, विपद् व्यवस्थापन कोषमा प्रति टिकट पाँच रुपैयाँ, लागु औषध दुर्व्यसन विरुद्धको अभियानको लागी प्रति टिकट एक रुपैयाँ छुट्याइएको हो।

 

कमेन्ट लोड गर्नुस