धनगढीमा वन कब्जा गर्न १५० जनाको ‘हुल’, ८ जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा वन कब्जा गर्न एक सय ५० जनाको हुल फेला परेको छ। धनगढी उपमहानगरपालिका–१७ धुर्जनास्थित कालिका सामुदायिक वनको संरक्षित क्षेत्रमा सुकुम्वासीको नाममा वन कब्जा गर्ने समूह प्रवेश गरेको हो।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएको बताउने उनीहरू वन क्षेत्रमा पुगेका हुन्। उनीहरूमध्ये ८ जनालाई डिभिजन वन कार्यालय, धनगढीले नियन्त्रणमा लिएको छ। सोमवार साँझ सामुदायिक वन क्षेत्रमा पुगेका उनीहरूमध्ये ८ जनालाई वन कार्यालयले मङ्गलवार नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालयको टोली पुगेपछि उनीहरू तितरबितर भएका छन्।
कालिका सामुदायिक वनको संरक्षणमा रहेको खुटिया खोलाको पूर्वतिर उनीहरू सोमवार साँझदेखि बालबालिका, महिला तथा पुरुषहरू जम्मा हुन थालेका थिए। मङ्गलवार बिहान डिभिजन वनको टोली पुग्ने खबर पाएपछि उनीहरूमध्ये आधा भागेका थिए। कालिका सामुदायिक वनको ४२ बिघा क्षेत्रफलमा अतिक्रमण गर्ने योजनामा उनीहरू पुगेको बताइएको छ। स्थानीय सीमा चौधरीले सामुदायिक वनका अध्यक्षलाई स्थानीयले अतिक्रमणको विषयमा जानकारी गराएपछि डिभिजन वनको टोली आएको बताइन।
वन क्षेत्रमा जग्गा पाउने आसमा पुगेका डोटीका गजैसिंह लुहारले हल्लै–हल्लाको भरमा आएको बताए। डिभिजन वन कार्यालय, फूलबारीका प्रमुख जीवछ यादवले वन क्षेत्र अतिक्रमणका लागि आएकाहरूलाई पक्राउ गरिएको बताए। उनले पक्राउ परेकाहरूलाई वनको ऐन, अनुसार कारबाही हुने बताए।