सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिडिसिए कप क्रिकेटको तयारी पूरा, आज बिहान ९ बजे उद्घाटन

२०८१ मंसिर ११, ०७:४७ खबर संवाददाता

बैतडी: एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ। 

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको यहाँस्थित जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको आज बिहान ९ बजे उद्घाटन हुनेछ। 

उद्घाटनपश्चात् पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब र महारूद्र क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ। जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय  क्रिकेट  छनोट प्रतियोगिताका रूपमा लिइएको छ। 

यही मङ्सिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा सञ्चालन हुने सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा मङ्सिर ११ देखि प्लेट र मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन्। 

प्लेट च्याम्पियनसिपमा सहभागी हुने ११ टोली रहेका सचिव बोगटीले जानकारी दिए। प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनोट हुनेछ। गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता समूह इलाइट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। निङ्लाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाइसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए।

मङ्सिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ। प्रतियोगिताका शीर्ष दुई टोली मङ्सिर ३० गते उपाधिका लागि भिड्नेछन्। यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ। नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो। जिल्ला क्रिकेट सङ्घले गत वर्षदेखि ‘ओडिआइ फरम्याट’मा प्रतियोगिता सञ्चालन गरिरहेको छ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्यास) रहेको छ। यस्तै प्रायोजकमा पेप्सी, सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी, पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरु रहेका छन्।  

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लबले जितेको थियो। खेलाडीहरू उत्पादन र क्षमता अभिवृद्धिका जिल्लास्तरबाट प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। 
 

कमेन्ट लोड गर्नुस