सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम रोयल्स र एसपीएबिच ‘एजुकेसन पार्टनर’ का लागि सम्झौता

२०८१ मंसिर ४, १२:४४ खबर संवाददाता

धनगढीः नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बिच ’एजुकेसन पार्टनर’ का लागि सहकार्य सम्झौता भएको छ।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो। सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरेका छन्। एसपीएले यस अघि नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना समेत गरेकोे थियो।

यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठूलो योगदान दिएको थियो। सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताए। हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपीएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो। लामो समयदेखि शिक्षा र खेलकुदलाई बढावा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छु,’ शाहले भने।

एसपीएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे। ’हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ। हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छौं, र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ,’ शाहीले बताए। क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ। 
 

कमेन्ट लोड गर्नुस