नेपालले टस जितेर कर्नाटकविरुद्ध ब्याटिङ गर्दै
काठमाडौंः नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू–१९ टोलीसँग ब्याटिङ गर्दैछ। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ सुरु गरेको हो। यो चौथो खेल हो।
यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २–१ को अग्रता बनाएर खेलिरहेको छ। आइतवार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो। आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ।
अन्तिम खेल बिहीवार हुनेछ। आउँदै गरेको एसीसी यू–१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलिरहेको छ। एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा हुँदै छ। त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेर अभ्यास सुरु गरिएको हो।