बेलायत प्रस्थान गरे प्रहरी महानिरीक्षक कुँवर
काठमाडौँ: प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर बेलायत प्रस्थान गरेका छन्।
इन्टरपोलको ९२औँ महासभामा सहभागी हुनका लागि उनी आइतबार बेलायत प्रस्थान गरेका हुन्। महासभामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुनेछ।
नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले समेत महासभामा भाग लिनेछन्। इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ।
महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्यलगायतमा छलफल हुनेछ। महानिरीक्षक कुँवरको बेलायत प्रस्थान गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जिम्मेवारी सम्हालेका छन्।