सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा १११ दरबन्दीमा २६ जना मात्र कार्यरत

२०८१ कार्तिक १२, १०:०० कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा छ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको भवनमा सुदूरपश्चिम प्रदेश सरकारले चिकित्सालय सञ्चालन गरेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि नै चिकित्सालयको औपाचारीक उद्घाटन गरिसकेका छन्। तर, प्रादेशिक आयुर्वेद चिकित्सालयमा दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन भने अझै हुन सकेको छैन।

प्रादेशिक चिकित्सालय व्यवस्थापन समितका अध्यक्ष नरेशबहादुर विष्टले एक सय ११ कर्मचारीको दरबन्दी रहेकोमा २६ जनाले मात्र काम गर्दै आएको बताए। उनले भने, ‘हामीसँग २६ जना कर्मचारी छन। २६ जनाले चिकित्सालय धानेका छन्। ५० शय्याको चिकित्सालयमा प्रदेश सरकारले कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन।’ प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको छ।

८० लाख कर्मचारीको आवास निर्माण र बाँकी औषधी, उपकरण खरिदका लागि बजेट विनियोजन गरिएको छ। तर, ८० लाख रुपैयाँमा आवास निर्माण नहुने र ७० लाखमा अन्य सल्यक्रियाका लागि आवश्यक उपकरणसमेत खरिद तथा जडान गर्न नसकिने व्यवस्थापन समितिको तर्क छ। ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक उपकरणको अभाव देखिएको छ। जसका कारण बिरामी भर्नामा समस्या हुने गरेको व्यवस्थापन समितिले बताएको छ।

विष्टले भने, ‘उपकरणको लागि बजेट प्रयाप्त छैन। चाहिने बजेट पनि दिएको छैन। आवासका लागि र उपकरणका लागि थोरै बजेट आएको छ। त्यो बजेटले पुग्दैन।’ चिकित्सालयमा आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सक, प्राकृतिक चिकित्सक, रेडियो ग्राफर, ल्याब टेक्निसियन, सहायक कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट, अनमी, वैद्य, स्टाफ नर्स र कविराज गरेर २६ जना मात्र कर्मचारी छन।

५० श्याको चिकित्सालय सञ्चालनका लागि एक सय ११ जना कर्मचारी आवश्यक हुन्छ। चिकित्सालयले शल्यक्रिया सेवा विस्तारका लागि चिकित्सक माग गर्दा पनि आवेदन परेन। प्रदेश सरकारले अन्य कर्मचारीको व्यवस्थापनसमेत गर्न सकेको छैन। गत वर्ष १५ हजार पाँच सय २५ महिला र ११ हजार ९९७ पुरुष गरेर २६ हजार ७२२ जनाले सेवा लिएकामा चालु आर्थिक वर्षको हालसम्म मात्र चार हजार ४६३ जनाले सेवा लिएका छन।

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका सूचना अधिकारी सुरेन्द्र शाहीले बिरामी तथा सेवाग्राहीको सङ्ख्या बढ्दै गएका बताए। उनका अनुसार बाथरोग, पाइल, फिस्टुला, फिसर लगायतका सेवाका लागि आउने गरेका छन। उनले भने, ‘केही सेवा विस्तार गरेका छौँ। पायल, फिस्टुलाको उपचार सेवा दिएका छौँ। छार सूत्रका विधि पनि सुरु भएका छन। शल्य सेवा विस्तार भएको छैन। दुई पटक विज्ञापन गर्दा पनि कर्मचारी आउनुभएन।’ चिकित्सालयले ओपीडी सेवा, प्रयोगशाला सेवा, औषधी वितरण, एक्स–रे र योग परामर्श सेवा प्रदान गर्दै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस