गेटा विश्वविद्यालय सञ्चालनको प्रश्न गर्दा गृहमन्त्री लेखकले सुनाए आफ्नै व्यथा
धनगढी: गृहमन्त्री रमेश लेखकलाई कैलालीको गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनको विषयमा प्रश्न गर्दा उनले आफ्नै व्यथा सुनाएका छन। गृह प्रदेश सुदूरपश्चिमको धनगढीमा बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा गेटामा विश्वविद्यालय सञ्चालनमा भएको ढिलाइका विषयमा प्रश्न गर्दा उनले आफ्नो व्यथा सुनाएका हुन।
कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पुगेको छ। प्रतिनिधि सभाको शिक्षा समितिमा दफावार छलफलका लागि विधेयक पुगेको हो। लामो समयदेखि विधेयक प्रतिनिधि सभामा पेस नभएको विषयमा पत्रकारले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले स्पष्ट जवाफ दिएनन। उनले प्रतिनिधि सभामा लामो समयदेखि धेरै विधेयकहरु जान नपाएको बताए। उनले भने, ‘यलाई चाँडो सञ्चालन गर्नुपर्छ भन्ने हो। विधेयक सङ्घीय संसदमा छ। राज्य व्यवस्था समितिमा पनि मैले भनेको थिए। एक प्रस्तावसमेत राखेको थिए।
हाम्रो कानुन निर्माणको गति अत्यन्त धिमा भयो, अत्यन्त कमजोर भयो। सरकारले पनि आवश्यकता अनुसारको कानुन समयमा संसदमा दिन नसक्ने। संसदमा गएको कानुन पनि वर्षौ वर्षसम्म संसदमा रोकिने। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा २०७५ सालमा दर्ता गरेको भ्रष्टाचार नियन्त्रण र अख्तियार दुरुपयोग सम्बन्धी कानुको संशोधनमा अहिलेसम्म छलफल गरिहेका छौ।’ गृहमन्त्री लेखकले कानुन निर्माणमा भएको ढिलासुस्तीका कारण गेटामा विश्व विद्यालय सञ्चालनमा समस्या भएको तर्क गरेका हुन। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक लगायतका कानुनहरू निर्माणमा कुनै समय सिमा नभएकाले समस्या भएको तर्क गृहमन्त्री लेखकको रहेको छ।
सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक २०८० माघ २९ गते पास भएको थियो। राष्ट्रिय सभाबाट पारित गरिएको विधेयक प्रतिनिधि सभाको समितिमा पुगेको हो। शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट प्रतिनिधि सभामा विधेयक नगएकाले समस्या भएको हो। उनले भने, ‘गेटाको चिकित्सा विश्वविद्यालयसँग सम्बन्धी विधेय संसदमा छ। त्यो विधेयकलाई चाँडो भन्दा चाँडो संसदबाट पारित गरेर, राम्रो संस्थाका रूपमा सञ्चालन गर्नुपर्छ। सरकारको ठुलो लगानी भएको छ। यत्तिकै रहन दिनुहुँदैन। चाँडो सञ्चालन गर्नुपर्छ।’ कैलालीको गेटामा चिकित्सा शिक्षासहितको अस्पताल सञ्चालनका ऐन निर्माणको प्रक्रियामा रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन।
स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका माध्यमले मुलुकको समृद्धिमा योगदान पुगाउन सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालेको हो। तर, राष्ट्रिय सभाबाट स्वीकृत भएको झण्डै एक वर्षदेखि प्रतिनिधि सभाको समितिमा थन्किएको छ। स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापन र मानवस्रोत विकास गरी नागरिकलाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न ऐन निर्माणको प्रक्रिया थालेको हो। हाल गेटामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पास भएर ऐन निर्माणका लागि प्रतिनिधि सभामा गएको हो। सङ्घीय मन्त्रीपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। गेटामा शिक्षा मन्त्रालयले झन्डै ६ अर्बका भौतिक संरचनाहरू निर्माण गरेको छ। तर, विश्व विद्यालय सञ्चालनको ऐन नभएकाले अस्पतालसमेत पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन।