सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध व्युरो महेन्द्रनगरको टोलीबाट नेपालगन्जमा खैरो हिरोईनसहित दुई जना पक्राउ

२०८१ असोज १६, ०२:४६ खबर संवाददाता

धनगढीः लागुऔषध नियन्त्रण व्युरो महेन्द्रनगरको टोलीले नेपालगन्जमा ठुलो परिमाणको खैरो हिरोईनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

महेन्द्रनगर व्युरोमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक केशव जोशीको कमान्डमा रहेको प्रहरी टोलीले मङ्गलवार ९९ ग्राम खैरो हिरोईनसहित एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले उत्तर प्रदेशको रुपेडिया घर भएका ३३ वर्षीय  भारतीय नागरिक राहुल शुक्ला र बर्दियाको गेरुवा गाउँपालिका–५ घर भएका ४१ वर्षीय बालचन्द्र कामीलाई पक्राउ गरेको हो।

प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा खैरो हिरोईन फेला परेको जनाएको छ। प्रहरीले भारतीय नागरिक शुक्लाको ट्राउजरको खल्तीमा ९९ ग्राम खेरो हिरोईन फेला परेको जनाएको छ। पक्राउ परेका शुक्ला र कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस