धनगढीमा २७ विद्यालयका १५ सय विद्यार्थीले तेक्वान्दो सिक्दै
धनगढीः कैलालीको धनगढीमा विद्यार्थीहरुलाई पढाइसँगै तेक्वान्दो प्रशिक्षण समेत दिन थालिएको छ। नियमित पठनपाठनका अतिरिक्त बिहान र साँझको समयमा विद्यार्थीहरूलाई तेक्वान्दो प्रशिक्षण दिन थालिएको हो।
एक दशक अगाडिबाट विद्यालयमै तेक्वान्दो डोजाङ्ग स्थापना गरेर इच्छुक विद्यार्थीहरूलाई तेक्वान्दो प्रशिक्षण दिन थालिएको हो। अहिले धनगढीका अधिकांश निजी विद्यालयसहित केही सामुदायिक विद्यालयमा समेत नियमित प्रशिक्षण हुने गरेको छ। विद्यालय तहमा खेलकुदमा संलग्न विद्यार्थीहरू अनुशासित हुनुका साथै पढाइमा समेत अब्बल हुने गरेको पाइएको छ।
तेक्वान्दो खेलाडी चन्दको अगुवाइमा डोजाङ्ग स्थापना
विद्यालयमा तेक्वान्दो प्रशिक्षण दिनुपर्ने भन्दै विद्यालय सञ्चालकहरूसँग कुराकानी गर्ने व्यक्ति कैलाली जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष आशिष चन्द हुन्। आजभन्दा दस वर्ष अगाडि अर्थात् २०७१ सालमा चन्दकै अगुवाइमा धनगढीको स्टेपिङ्ग स्टोन स्कुलमा तेक्वान्दो डोजाङ्ग खोलिएको हो।
स्टेपिङ्ग स्टोन स्कुलमा विद्यार्थीहरूलाई प्रशिक्षण दिन थालेपछि तेक्वान्दो प्रशिक्षणका लागि अन्य विद्यालयहरूसँग समेत समन्वय गरिएको चन्दले बताए। उनले विद्यार्थीहरू पनि तेक्वान्दो सिक्न सकून् र खेलाडीहरूले पनि थोरै खर्च जुटाउन सकून् भनेर विद्यालयमा डोजाङ्ग खोलेर प्रशिक्षण दिन थालेको बताए।
२७ विद्यालयका १५ सयले तेक्वान्दो सिक्दै
धनगढीका करिब २७ विद्यालयमा अहिले नियमित तेक्वान्दो प्रशिक्षण भइरहेको उपाध्यक्ष चन्दले बताए। धनगढीको वेष्टर्न क्रिष्टल एकेडेमी, मयुर स्कुल, ग्ली एकेडेमी, ऐश्वर्य विद्या निकेतन, पशुपति शिक्षा मन्दिर, एरिष्टो स्कुल, दरबार स्कुल, ज्योति स्कुल, थ्रीस्टार्स स्कुल, कैलाली मोडेल स्कुल, डिस्कभरी स्कुल, कैलाली विद्या निकेतन, चैतन्य पाठशाला, अक्सफोर्ड स्कुल, वाल्मीकि स्कुल, कोभिडा र मणिलेक स्कुलमा नियमित तेक्वान्दो प्रशिक्षण भइरहेको चन्दले बताए।
यस्तै, सामुदायिक विद्यालयमा पनि तेक्वान्दो खेलको प्रशिक्षण दिने काम भइरहेको छ। सामुदायिक विद्यालयतर्फ जुगेडाको जनकल्याण माध्यमिक विद्यालय, फूलबारीको जनजागृति माध्यमिक विद्यालय, फूलबारी माध्यमिक विद्यालय, वडा नम्बर ९ को भवानी माध्यमिक विद्यालय, मनेहराको सरस्वती माध्यमिक विद्यालय, वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालय र वडा नम्बर २ को शारदा माध्यमिक विद्यालयमा तेक्वान्दो प्रशिक्षण भइरहेको चन्दले बताए। यी विद्यालयहरूमा करिब एक हजार पाँच सय विद्यार्थीले नियमित प्रशिक्षण लिइरहेका छन्। नियमित ग्रेडिङ हुने भएकाले केही विद्यार्थीले दुई वर्षको अन्तरालमै ब्ल्याकबेल्ट उपाधी हासिल गरेको चन्दले बताए।
खेलकुदमा संलग्न विद्यार्थी पढाइमा पनि अब्बल
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को चैतन्य पाठशालाका आयुस्मान सिंह तेक्वान्दोको ब्ल्याकबेल्ट उपाधी पाएका खेलाडी हुन्। हाल कक्षा ९ मा अध्ययनरत सिंहले दुई वर्षको प्रशिक्षण पश्चात् ब्ल्याकबेल्ट पाएका हुन्। चैतन्य पाठशाला डोजाङ अन्तर्गत सिंह जस्तै ६० जना खेलाडीले नियमित प्रशिक्षण लिइरहेका छन्। पढाइमा समेत अब्बल सिंहले विभिन्न प्रतियोगितामा एक दर्जनभन्दा बढी पदक जितेका छन्। आयुस्मान सिंह प्रतिनिधि उदाहरण हुन्।
खेलकुदमा संलग्न विद्यार्थीहरू अनुशासित हुनुका साथै पढाइमा समेत अब्बल हुने गरेको चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले बताए। ‘तेक्वान्दोसहित अन्य खेलमा संलग्न विद्यार्थीहरू अनुशासित हुनुका साथै पढाइमा समेत अब्बल छन्’, उनले भने खेलकुदमा संलग्न विद्यार्थी समयको पालना गर्ने, विद्यालयको पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि राम्रो प्रदर्शन गर्छन्। खेलकुदमा संलग्न हुँदा कुलतमा फस्ने, मोबाइल मात्रै चलाउने र बरालिएर हिड्ने सम्भावना निकै कम हुन्छ।’
खेल खेल्दा पढाइ बिग्रन्न
२०७१ सालदेखि विद्यालयमा तेक्वान्दो डोजाङ्ग स्थापना गरेर इच्छुक विद्यार्थीहरूलाई प्रशिक्षण दिन थालिएको स्टेपिङ स्टोन स्कुलका प्रधानाध्यापक रामजी हमालले विद्यार्थीले आफ्नो रुचिको खेल खेल्नुपर्ने बताउँछ्न्। खेलकुदले शारीरिक व्यायाम मात्रै नभएर अनुशाशित जीवन जिउन सहयोग पुग्ने हमालको बुझाइ छ।
यस्तै, व्यक्तिलाई शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ र तन्दुरुस्त राख्न खेलकुद अनिवार्य भएको चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंह बताउँछन्। तेक्वान्दोको तेस्रो डन उपाधी प्राप्त प्रधानाध्यापक सिंहले अभिभावकले नानीबाबुहरूलाई खेलकुदमा संलग्न हुन दिनुपर्ने बताउँछन्। यस्तै, कैलाली मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले खेलकुद पनि पढाइ जत्तिकै महत्त्वपूर्ण रहेको बताए।
उनले स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने राष्ट्रिय नारा नै रहेकाले आफ्नो विद्यालयमा पनि खेलकुद प्रतियोगिता गर्नुका साथै इच्छुक विद्यार्थीहरूलाई प्रशिक्षण दिने व्यवस्था गरिएको बताए। धनगढीका १९ निजी र ७ वटा सामुदायिक विद्यालयमा तेक्वान्दो डोजाङ्ग स्थापना गरेर नियमित प्रशिक्षण दिने काम भइरहेको छ।
हरेक विद्यालयमा कम्तिमा ४० देखि ७० जना विद्यार्थीलाई नियमित कम्तिमा एक घण्टा तेक्वान्दोको प्रशिक्षण दिने गरिन्छ। जसका लागि कैलाली तेक्वान्दो संघले प्रशिक्षक पठाउने गर्छ। केही विद्यालयले भने खेलकुद शिक्षक भर्ना गरेर प्रशिक्षण दिने व्यवस्था गरेका छन्। आफ्नो विद्यालबाट १० वर्षको अन्तरालमा तेक्वान्दो प्रशिक्षण लिएको विद्यार्थीले ब्ल्याकबेल्टसहित एसएलसी र एसइई परीक्षामा राम्रो नतिजा हासिल गरेको स्टेपिङ स्टोन स्कुलका प्रधानाध्यापक रामजी हमालले बताए।