सुदूर नेपाललाई विश्वसँग जोड्दै

शीर्ष स्थानमा उक्लिन माल्दिभ्ससँग भिड्दै नेपाल

२०८१ साउन २१, ०९:४६ खबर संवाददाता

काठमाडौंः काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा सोमबार घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे सुरु हुनेछ। दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जारी लिगमा नेपाल उत्कृष्ट लयमा थियो। नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएको श्रीलंकालाई ३–० को सोझो सेटमा निराश पारेको थियो।

दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले नतिजा सुम्पियो। योसँगै नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ। 

सात अंकसहित भारत शीर्ष स्थानमा छ। समान अंकसहित इरान दोस्रो स्थानमा छ। यद्यपि, भारतले एक खेल कम खेलेको छ। भारतले लिग चरणको अन्तिम खेल सोमबार नै श्रीलंकासँग खेल्ने छ। श्रीलंकालाई पराजित गरे भारतले फाइनल प्रवेशका लागि सेमिफाइन यही टोलीसँग खेल्ने लगभग पक्का हुनेछ। 

लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ। श्रीलंका चार अंकसहित चौथो स्थानमा छ। ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। यदि श्रीलंकाले भारतलाई पराजित गरे र प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्समाथि नेपालले जित हासिल गरे समीकरण बद्लिन सक्छ।

तर, भारत पराजित नभए नेपालले सेमिफाइनलमा इरानकै सामना गर्नुपर्ने हुन्छ। अहिलेसम्मको समीकरण हेर्दा नेपालले सेमिफाइनलमा इरान र भारतले श्रीलंकाको सामना गर्ने लगभग पक्का भइसकेको छ।श्रीलंकाले यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार बेहोरेको थियो। आइतबार भएको खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो।

कमेन्ट लोड गर्नुस