सुरो नेपाल चोर बाटोबाट कैलारी छिरेपछि ...
धनगढीः कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको सुरो नेपाल, समाज कल्याण परिषद्मा २०८१ जेठ २० गते आबद्ध भयो। सुरो नेपालले वैदेशिक सहयोग लिनुपरेमा स्वीकृत लिनुपर्ने भनिएको छ।
समाज कल्याण परिषद्को २०८१ जेठ २० गते भएको निर्णय सुरो नेपालले २०८१ असार ३० गते जिल्ला समन्वय समिति कैलालीमा दर्ता समेत गरेको छ। तर, जिल्ला समन्वय समिति कैलालीमा दर्ता नहुँदै सुरो नेपालले कैलारी गाउँपालिकाका सहकारीसँग किसानलाई पावर टिलर, पानी मोटर र मल वितरणको सम्झौता गरेको छ। कैलाली गाउँपालिकामा सूचीकृत नभएको, कार्यक्रम स्वीकृत नगरेको र जिल्ला समन्वय समिति कैलालीमा दर्तासमेत नहुँदै सुरो नेपालले २०८१ असार ३ गते अखुवा कृषि सहकारी संस्थासँग सम्झौता गरेको हो। अखुवासँग ५८ हजार सात सय ५० रुपैयाँमा पावर टिलर दिने सम्झौता गरिएको छ।
कैलारी गाउँपालिकामा सूचीकृत गरेर कार्यक्रम स्वीकृत गराएर किसानसम्म जानुपर्ने सुरो नेपाल बिचौलिया र ठगहरू मार्फत चोर बाटो हुँदै गएको हो। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सुरो नेपाल चोर बाटोबाट किसनसम्म गएको बताए। उनले भने, ‘उहाँहरुले बर्खा अगाडि पावर टिलर वितरण गर्ने सम्झौता गर्नु भएको रहेछ। तर, अहिलेसम्म किसानले पावर टिलर पाएका छैनन्। यो कार्यक्रम होइन। चोर बाटोबाट लुकेर, छुपेर गर्न सिल्दैन। यो गलत कुरा हो। किसानलाई ठगी गर्ने काम भएको छ। यो ठगीलाई हामी रोक्छौँ।’
उद्देश्यभन्दा फरक कार्यक्रम सञ्चालन
आन्तरिक राजस्व कार्यालय, धनगढीबाट सुरो नेपालले २०८१ जेठ १३ गते स्थायी लेखा नम्बर लिएको छ। स्थायी लेखा नम्बरमा धनगढी उपमहानगरपालिका–३ मा कार्यालय रहने भनिएको छ। सुरो नेपालको स्थायी लेखा नम्बरमा कृषिमा काम गर्ने उल्लेख गरिएको छैन। तर, अन्य सामाजिक सेवाहरू प्रदान गर्ने क्रियाकलापहरू सञ्चालन गर्ने भनिएको छ।
सामाजिक काम गर्न स्थायी लेखा नम्बर लिएको सुरो नेपाल कैलारी गाउँपालिकामा अवैध माध्यमबाट प्रवेश गरेपछि किसान मर्कामा परेका छन्। कैलारी गाउँपालिकामा सूचीकृत नभएको र कार्यक्रमको स्वीकृतसमेत नगरेर बिचौलियामार्फत सुरो नेपाल प्रवेश गरेकाले किसानले दुःख पाएका हुन्।
सुरो नेपालले सहकारीलाई रकम फिर्ता दिँदै
बिचौलियामार्फत प्रवेश गरेको सुरो नेपालले किसानको रकम फिर्ता गर्न थालेको छ। कालीमाई सहकारीको सबै रकम फिर्ता गरिएको छ। अखुवा सहकारीको रकम सुरो नेपालले शुक्रवार फिर्ता गर्ने भएको छ। सुरो नेपालीकी अध्यक्ष सुशीला खड्का ओझाले गाउँपालिकामा सूचीकृत नगर्नु र कार्यक्रम स्वीकृत नगराउनु आफ्नो गल्ती भएको बताइन। उनले भनिन्, ‘हामी रकम फिर्ता गर्दै छौँ। कालीमाईको सबै भयो। अखुवाको भोलि फिर्ता हुन्छ। हामी फिर्ता गर्ने प्रक्रियामा छौँ। मलाई आएको रकम फिर्ता गर्छौँ। बिचौलियाले उठाएको रकम हामीबाट फिर्ता हुँदैन। शंकरले मलाई रकम दिएको छैन। गाउँपालिकामार्फत नजानु हाम्रो गल्ती हो।’ उनले कैलारी गाउँपालिका क्षेत्रमा वितरण गरेका उपकरणको विवरण र गाउँपालिका क्षेत्रका किसानबाट सङ्कलन भएको रकमको पूर्ण विवरण दिनसमेत आनाकानी गरेकी छन्।
अनुदानको स्रोत खुलाउन आनाकानी
कृषि कार्यक्रम सञ्चालनका लागि समाज कल्याण परिषद्मा आबद्ध भएको सुरो नेपालले ५८ हजार सात सय ५० रुपैयाँ किसानबाट सङ्कलन गर्दै आएको छ। पावर टिलरका लागि आवश्यक ७५ प्रतिशत रकम सुरो नेपालबाट भुक्तानी हुने भनिएको छ। तर, ७५ प्रतिशत रकम दिने सहयोगी संस्था तथा वैदेशिक सहयोगको विषयमा सुरो नेपालले बोल्न आनाकानी गर्दै आएको छ। सुरो नेपालकी अध्यक्ष सुशीलाले भनिन्, ‘त्यो उहाँ (राजसमझ)को विषय होइन। फन्ड कहाँबाट आयो? के आयो? कसरी आयो? भन्ने कुरा। हामीले एउटा संस्था चलाउने हो। संस्थाको कतिपय कुराहरू गोप्य राख्नुपर्ने हुन्छ। सबैलाई यताबाट आएको भन्दै हिड्नु पनि हुँदैन। समय र परिस्थिति आएपछि प्रमाणित हुने कुरा हो।’
कागजपत्र र अभिलेख छैन
सुरो नेपालसँग किसानबाट सङ्कलन गरिएको रकम, वितरण गरिएका उपकरण तथा मल, रकम जम्मा गर्ने व्यक्ति तथा संस्थाको पूर्ण विवरणसमेत छैन। सुरो नेपालीकी अध्यक्ष सुशीला खड्का ओझाले बैँकमा जम्मा भएको रकमको आधारमा उपकरण वितरण गर्दै आएको बताइन्। उनले भनिन्, ‘हामीसँग कागजहरू छैन। उहाँहरूसँग भौचर होला। तर, बैँक स्टटमेन्टमा देखिनछ। हिजो पनि तीन जनाले रकम जम्मा गर्नु भएको थियो।’
गाउँपालिकासँग सम्झौता गरिने
कैलारी गाउँपालिकामा सूचीकृत नभएको र कार्यक्रम स्वीकृत नगरेको सुरो नेपालले कैलारी गाउँपालिकासँग सम्झौता गरेर किसानलाई पावर टिलर, पानी मोटर र मल अनुदानमा वितरण गर्ने बताएको छ। सुरो नेपालीकी अध्यक्ष सुशीलाले भनिन्, ‘गाउँपालिकाबाट हामी चुकेका छौँ। हामीले कार्यक्रम स्वीकृत गर्नुपर्ने थियो। अध्यक्ष ज्यूसँग हाम्रो सम्झौता भएको छैन। अध्यक्ष ज्यूमाफर्त गएको भए, बिचौलियाहरू पाउने थिएनन।’
सुरो नेपालले ५८ हजार सात सय ५० रुपैयाँका दरमा पावर टिलर र पानी मोटर वितरण गर्न सम्झौता गरेको थियो। तर, सुरो नेपालले सम्झौता गरेका बिचौलियाको भूमिकामा रहेका कालीमाई र अखुवा सहकारी तथा बाल सशक्तीकरण नेपाललाई रकम फिर्ता गरिएको छ।
सम्बन्धित समाचारहरू
कैलालीमा पावर टिलर बाँड्ने भन्दै किसानको आधा रकम बिचौलियाको खल्तीमा
कैलालीमा पावर टिलरको नाममा २ सय किसानबाट रकम असुली
कैलालीका सहकारी पावर टिलर वितरणको नाममा आधा रकम झ्याप पार्दै
पीडित किसानबाट माग्यो कैलारी गाउँपालिकाले निवेदन
कैलारीमा किसान ठगी प्रकरणः ३५४ किसानको रकम फिर्ता गरिँदै
सुदूरपश्चिमका पूर्वमन्त्री चौधरीका ‘पीए’ले ठगे झण्डै २७ लाख