सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा किसान ठगी प्रकरणः ३५४ किसानको रकम फिर्ता गरिँदै

फाइल फोटो
फाइल फोटो
२०८१ साउन ४, ०६:५० कमल सावद

धनगढीः कैलालीको कालीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि रकम सङ्कलन गरेको थियो।

जिल्लाको कैलारी गाउँपालिकामा सञ्चालनमा रहेको कालीमाई सहकारीले एक लाख १७ हजारका दरले २ सय किसानबाट रकम उठाएको हो। कालीमाईले दुई सय किसानबाट जम्मा २ करोड ३४ लाख रुपैयाँ सङ्कलन गरेको छ। ५८ हजार सात सय ५० रुपयाँको अनुदानमा बिक्री गर्नुपर्ने पावर टिलरमा सहकारीले एक लाख १७ हजार रुपैयाँसम्म असुल गरेका थिए।

कालीमाईले किसानबाट सङ्कलन गरेको रकम प्रत्येक वडाहरुमा पुगेर फिर्ता गर्न थालेको छ। कैलारी गाउँपालिकाका ५ नम्बर वडासम्मका किसानहरुको रकम फिर्ता गरिएको छ। कालीमाई सहकारीका अध्यक्ष अमृत चौधरीले प्रत्येक वडाहरुमा रकम फिर्ता गर्न सहकारीको टोली पुग्ने गरेको बताए। उनले भने, ‘किसानहरु सामान चाहियो भन्छन। तर, हामीले रकम नै फिर्ता गर्न थालेका छौ।’

बाल सशक्तीकरण नेपाल, काडमाण्डौँले कैलारी गाउँपालिका क्षेत्रका एक सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि रकम सङ्कलन गरेको थियो। बाल सशक्तीकरणले एक लाखका दरले किसानबाट रकम उठाएको हो। किसानबाट एक करोड रुपैयाँ सङ्कलन गरेको बाल सशक्तिकरणलेसमेत रकम फिर्ता गर्न थालेको छ। किसानहरुले माग गरेका सामानसहित ३० हजारका दरले रकम फिर्ता गर्न थालिएको छ।

बाल सशक्तिकरणले १५ बढी किसानको सामानसहितको आधा रकम फिर्ता गरेको छ। बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगीले सामान वितरण गर्ने गरेको बताए। बाँकी रकम फिर्ता गर्दै आएको उनको भनाई छ। सुरो नेपाल संस्थासँग ७५ प्रतिशत अनुदानमा पावर टिलर र पानी मोटर वितरणको सम्झौता गरेको अखुवा कृषि सहकारी संस्थाले समेत किसानको रकम फिर्ता गर्न थालेको छ।

सहकारी र सुरो नेपालको बिचमा २०८१ असार ११ गते सम्झौता भएको थियो। सम्झौतामा ५४ जना किसानलाई पावर टिलर र ४५ जना किसानलाई पानी मोटर वितरण गर्ने भनिएको छ। अखुवा सहकारीले किसानबाट एक लाख २५ हजारसम्म सङ्कलन गरेको छ। किसानलाई पावर टिलरको कुल मुल्यको २५ प्रतिशत मात्र तिर्न लगाउने सम्झौता गरेको अखुवाले प्रति किसानबाट ६६ हजार २ सय ५० रुपैयाँ बढी रकम लिने योजना बनाएपछि बिरोध भएको थियो।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले वडा/वडामा सहकारीको टोली पुगेर रकम फिर्ता गर्न थालेका बताए। उनले भने, ‘रकम जम्मा गरेका किसानको फोनमा म्यासेज गरेका छन्। प्रत्येक वडामा टोली जाने गरेको छ। उहाँहरुले सहकारीमा जम्मा भएको रकम फिर्ता हुने गरेको हो।’ कैलालीमा पावर टिलरको नाममा ठगीमा परेका तीन सय ५४ किसानको रकम फिर्ता गर्ने काम भइरहेको छ। कैलारी गाउँपालिका क्षेत्रका किसानबाट रकम सङ्कलन गरेका बिचौलियाहरुको विषयमा भने खुलेको छैन। बिचौलियाहरुको बिरुद्धमा कैलारी गाउँपालिका र जिल्ला प्रहरीमा निवेदन समेत परेका छैनन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस