सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रदेश मन्त्रालयद्वारा अनुगमन र भ्रमणमा करोडौँ खर्च

२०७६ जेठ ९, ०७:३८ कमल सावद

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधीमा अनुगमन र भ्रमणमा ठुलो रकम खर्च गरेका छन्। प्रदेशका ७ मन्त्रालय र प्रदेश सभा सचिवालयले मात्रै आर्थिक बर्षका १० महिनाको अवधीमा साढे तीन करोड बढि बजेट अनुगमन र भ्रमणका लागि खर्च गरेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अनुगमन भ्रमण शिर्षकमा विनियोजन गरिएको ४५ लाखमा ४४ लाख ३३ हजार १० महिनामा नै खर्च गरेको छ। अहिले सम्म थप ८ लाख ७७ हजार खर्च भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरिरहेका योजनाहरुको अनुगमन धेरै नभएको बेला प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले अनुमगन र भ्रमणका लागि खर्च गरेको आधा करोड बढि बजेटको उपलव्धी भने खासै देखिएको छैन्। तर मन्त्री झपट बोहराले भने अनुगमन र भ्रमणपछि धेरै सुधार भएको दावी गरे। 

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालयका कर्मचारी तथा विभिन्न बिषयगत समितिका पदाधिकारीहरुले पनि चालु आर्थिक बर्षमा ४८ लाख ७७ हजार अनुगमन भ्रमणका लागि खर्च गरेका छन्। उनीहरुले पनि विभिन्न औपचारीक कार्यक्रमका लागि भ्रमण शिर्षकको रकम सकाएका हुन्। प्रदेश सभा सचिवालय सहित अन्य मन्त्रालयको अवस्था पनि यस्तै छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले १६ लाख १४ हजार बढि बजेट सकाएको बताएको छ भने अन्य मन्त्रालयको औसतमा ४० देखि ५० लाख अनुगमन र भ्रमणका लागि खर्च भएको छ। मन्त्रीहरुको जिल्ला भ्रमण, कर्मचारीको सरुवा, मन्त्रीको नीजि सचिवालयका कर्मचारीले विभिन्न ठाँउको भ्रमणमा यो रकम सकेका हुन्। तर भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भने योजना कार्यान्वयन भईरहेकाले अनुगमन आवश्यक देखिएको र अवलकोलन भ्रमणले पनि धेरै कुरा सिकाउने बताए।

सुदूरपश्चिमका ७ जना मन्त्री, एक जना राज्यमन्त्री सहित मन्त्रीका सचिवालयका कर्मचारीहरु सुरुवातदेखि नै अनुगमन र भ्रमणमा बढि केन्द्रित भएका छन्। तर कुनै पनि अनुगमन भ्रमणले ल्याएको उपलव्धी भने अहिले सम्म देखिएको छैन्।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस