कालीगण्डकी बाढी: विद्युत् प्रसारण लाइनको अस्थायी टावर निर्माण
म्याग्दीः कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारण लाइन मर्मत गरिएको छ।
विपत्का समयमा आकस्मिक रूपमा विद्युत् आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत ११ असोजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलाएका तीनवटा टावरको विकल्पमा एउटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राति साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिए। प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानडाको प्रविधिको एउटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताए।
बेनी–जोमसोम सडकको भिरकाटे खण्डदेखि पारि रहेको अन्नपूर्ण गाउँपालिका–१ दोवाको औलामा अस्थायी टावर निर्माण भएको छ। कालीगण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजना र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जनाभन्दा बढी मजदुर पछिल्लो १५ दिनयता परिचालन भएका थिए। अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडि बढाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रसारण लाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो।