सुदूर नेपाललाई विश्वसँग जोड्दै

मत्स्य विकास केन्द्र गेटाका ४८ वर्ष पुराना पोखरीहरू सुधार भएनन्

२०८० फाल्गुन १७, १०:५८ कमल सावद

धनगढीः कैलालीको गेटामा २०३२/३३ सालमा मत्स्य विकास केन्द्र स्थापना भयो। गेटामा २० बिघा जग्गामा मत्स्य विकास केन्द्र फैलिएको छ। माछा उत्पादनका लागि १७ वटा नर्सरी छन्। सात जातका माछाका भुराहरू सरकारी मूल्यमा बिक्री हुँदै आएका छन्।

गेटामा ४२ वटा पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएका छन्। सात प्रकारका माछाका भुरा राख्न पोखरीहरू छन्। एक वर्षमा पाँच करोड माछाका भुरा उत्पादन हुँदै आएका छन्। तर, पुराना संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या हुँदै आएको छ। मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले पुराना संरचनाका कारण माछाका भुराहरु उत्पादनमा समस्या हुने गरेको छ। उनले भने, ‘नर्सरी पोखरीहरू सीमित चन। माउ पोखरीहरू धेरै छन्। तर, केयरीङ् र नर्सरी पोखरीहरू कम छन्।’

मत्स्य विकास केन्द्र गेटाले ह्याचरी, फिङ्गर र फ्राई माछाका भुराहरू उत्पादन गर्दै आएको छ। उत्पादन भएका माछाका भुराहरू सरकारी मूल्यमा बिक्री हुँदै आएका छन्। तर, ४८ वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीहरू तथा भुरा राख्न नयाँ पोखरीहरू निर्माण नभएकाले उत्पादन बढाउन समस्या भइरहेको हो। प्रदेश सरकारले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको कामसमेत अझै पूरा भएको छैन्। प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आधा निर्माण गरेर छोडेको ह्याचरीको काम पूरा भए, एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रको तर्क छ। उनले भने, ‘पोखरीको गहिराइ कम छ, मापदण्ड अनुसार छैन। ह्याचरीहरु छैनन्। एक आधुनिक ह्याचरीको काम अधुरो छ। अधुरो ह्याचरीको काम पूरा भएपछि उत्पादन वृद्धि गर्न सकिन्छ।‘

माछाले फागुनदेखि भदौसम्म प्रजनन गर्दै आएका छन्। चैतबाट मत्स्य विकासले माछाका भुराहरू बिक्री गर्न सुरु गर्छ। ह्याचरी भने फागुनमासमेत बिक्री हुन्छन्। गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी उत्पादन गरिएको थियो। चालु आर्थिक वर्षमा चार करोड ह्याचरी मात्र उत्पादन गर्ने लक्ष्य छ। एक वर्षमा ३० लाख फ्राई उत्पादन हुन्छन्। ३० लाखको सङ्ख्यामा भुराहरू उत्पादन हुने गरेको छ। सात प्रजातिका माछाका भुराहरु मत्स्य विकास केन्द्र गेटले उत्पादन र र बिक्री गर्दै आएको छ। निमित्त प्रमुख निर्मलले ३० कट्‍ठा जग्गामा नयाँ पोखरीहरू निर्माण गर्न सकिने बताए। उनले भने, ‘क्षेत्र विस्तार भएपछि ८ करोड भुरासम्म उत्पादन गर्न सकिन्छ। अहिले पाँच करोड भुरा उत्पादन हुँदै आएको छ। सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति हामीले गर्न सक्छौ।’

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको मत्स्य विकास केन्द्र गेटाले एक लाख भुराको २ हजार पाँच सय रुपैयाँ मात्र लिने गरेको छ। गेटाले सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दिया र कालीकोटसम्म माछाका भुरा बिक्री हुँदै आएका छन्। गेटासहित सुदूरपश्चिममा चारवटा माछाका भुरा उत्पादन गर्ने केन्द्र छन्।

ह्याचरीको काम अलपत्र

सुदूरपश्चिम प्रदेश सरकारले गेटामा प्रशासनिक भवन निर्माण गरेको छ। नयाँ भवनबाट कर्मचारीले काम सुरु गरेका छन्। तर, पुराना र जीर्ण रहेका आवाशहरूमा उनीहरू बसोबास गर्दै आएका छन्। मत्स्य विकास क्षेत्रमा पुराना र खिया लागेका पप्पसेटहरू छन्। मोटरका लागि सुरक्षीत टहराहरूसमेत छैनन्। प्रदेश सरकारले संरचनाको सुधारमा बेवास्ता गरेको हो।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७० लाख रुपैयाँ नयाँ ह्याचरी निर्माणका लागि विनियोजन गरेको थियो। तीन वर्ष अगाडी प्रदेश सरकारले विनियोजन गरिएको बजेटबाट ह्याचरी निर्माणको ठेक्का गरिएको थियो। तर, ह्याचरी निर्माणको काम पूरा नहुँदै समय सकिएको छ। तीन वर्षदेखि उक्त ह्याचरी निर्माणको काम अलपत्र रहेको छ। उनले भने चालु आर्थिक वर्षमा ३० लाख ह्याचरी निर्माण र २० लाख पोखरी निर्माणका लागि बजेट माग गरिएको थियो। तर, प्रदेश सरकारले बजेट नदिएकाले समस्या भएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस