सुदूर नेपाललाई विश्वसँग जोड्दै

कल्पनाकी परी

२०८० माघ २०, ०६:१६

डिलबहादुर महरा: तिमी सुन्दरी  सान्त्वनाकी परी हौ ।
हियोभित्र  रैबार  पोख्ने चरी हौ ।।
सजाएर  श्रृङ्गार  पोत्ने   जरी हौ ।
कबै घामपानी र जाडो झरी हौ ।।
                      ।१।
म हूँ कल्पना काखमा हुर्किएको ।
तिमीभित्रको प्रेममा फुर्किएको ।।
भरोसा तिमी सम्झिँदै सुर्किएको ।
बडो आँटिलो आडमा घुर्किएको ।।
                     ।२।
सबै थोक हौ चित्तले ध्यान गर्छु ।
अनेकौँ कहानी मिठा बात भर्छु ।।
म बेला कुबेला तिमी सामु सर्छु ।
कुरा भन्छु भन्दै सयौँ सिन्धु तर्छु ।।
                   ।३।
छचल्किन्छु पग्लिन्छु आकारभित्र ।
रमाएर    बाँच्दैछु   कोरेर  चित्र ।।
छ संसार  लाग्दैछ  बेग्लै  विचित्र ।
तिमीझैँ  कुनै वस्तु छैनन् अन्यत्र ।।
                  ।४।
सधैँ जिन्दगीमा तिमी साथ पाऊँ ।
तिमी फूलको बाग सम्झी हराऊँ ।।
चपक्कै समाती हियोमा सजाऊँ ।
तिमी भित्रको दिव्यतामा अघाऊँ ।।

               ।५।

कमेन्ट लोड गर्नुस