सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल स्थापनाका ८४ वर्ष, हिजो आज र भोलि

२०८० पुष १५, ०२:१६ नारायण अवस्थी

धनगढीः वि.स. १९९७ मा स्थापना भएको सेती प्रादेशिक अस्पतालले हिजो (शनिवार) ८४ औं वार्षिकोत्सव मनाएको छ। २०४० मा राजा वीरेन्द्रको सुदूरपश्चिम भ्रमणको क्रममा २५ शय्याको अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भएको सेती प्रादेशिक अस्पताल, सरकारको स्वीकृति बिना ३०२ शय्या क्षमतामा चलाइएको छ।

२०७५ सालदेखि प्रदेश सरकार मातहत सञ्चालन भइरहेको छ। राणा शासन कालमा खुलेको अस्पतालले ८४ वर्षको यात्रा तय गर्दा पनि जनशक्ति, भौतिक पूर्वाधार र उपकरण अभावको समस्या झेल्न बाध्य छ। सरकारले सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्न नसक्दा बिरामीले उपचार पाउन कठिनाइ भोग्नुपरेको छ। अस्पतालमा स्थायी जनशक्ति नहुँदा करार र ज्यालादारीमा चिकित्सक नियुक्त गर्नुपर्ने अवस्था छ।
सेतीमा १४ वटा विभाग सञ्चालनमा
सेती प्रादेशिक अस्पताल सुरूमा प्राथमिक अस्पतालको रुपमा खुलेको हो। त्यसपछि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै २०७५ मा प्रादेशिक अस्पताल घोषणा भएको हो। सेतीमा स्थायी जनशक्ति ५० शय्याका लागि मात्रै भए पनि अस्पताल विकास समितिबाट थप भएको ७५ शय्यासहित १२५ शय्या हेर्न जनशक्ति नियुक्त गरिएको छ। अस्पतालमा विभिन्न कार्यक्रमबाट पनि जनशक्ति व्यवस्थापन गरिएको छ।

सिमित जनशक्ति र स्रोत साधनबाट १४ वटा विभाग सञ्चालनमा छन्। सर्जरी विभाग अन्तर्गत युरो र न्यूरोसहित जनरल सर्जरी गरिन्छ। यस्तै, मेडिसिन/कार्डियो विभाग, बालरोग विभाग, हाडजोर्नी विभाग, प्रसूति विभाग, छालारोग विभाग, एनेस्थेसिया, नाक,कान घाँटी विभाग, दन्त रोग विभाग, आकस्मिक विभाग, रेडियोलोजी विभाग, फिरेन्सिक विभाग, प्याथोलोजी र मानसिक रोग विभागबाट सेती प्रादेशिक अस्पतालले बिरामीको उपचार गरिरहेको छ।
१० वटा विषेश इकाई
सेती प्रादेशिक अस्पतालले १० वटा विषेश इकाइ र क्लिनिकबाट बिरामीको उपचार गरिरहेको छ। सेतेमा एचआईभी संक्रमितका लागि एआर्टी क्लिनिक सञ्चालनमा छ भने मातृ शिशु स्वास्थ सेवा एमसिएच क्लिनिकबाट प्रदान हुने गरेको छ। यस्तै, यौन दुर्व्यवहार र घरेलु हिंसाबाट पीडितहरूलाई ओसिएमसीबाट, क्षयरोगको उपचार गर्न डट्स/एमडिआर, कुष्ठरोग क्लिनिक, सिएसी, डायलाइसिस, टेलिमेडिसिन, फिजियोथेरापी र पोषण इकाईबाट सेवाग्राहीलाई उपचार सेवा प्रदान गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए।
१४ वटा क्लिनिकल सेवा
सेती प्रादेशिक अस्पतालमा १४ वटा क्लिनिकल सेवा सञ्चालनमा छन्। ओपिडी सेवा, विशेष क्लिनिक, आकस्मिक सेवा, आइपिडी सेवा, २४ घण्टा प्रसूति सेवा, सर्जरी सेवा, रेडियोलोजी सेवा, डाइग्नोस्टिक एण्ड ल्याव, पोष्टमोर्टम, मेडिकोलिगल सेवा, ओसिएमसी सेवा, फार्मेसी, फिजियोथेरापी, साइकोथेरापी र स्वास्थ्य बीमा सेवा सञ्चालन छन्।
अस्पताल सहयोग सेवाहरू
सेती प्रादेशिक अस्पतालमा ११ वटा अस्पताल सहयोग सेवाहरू सञ्चालनमा छन्। सिएसएसडी, लौन्ड्री, हाउसकिपिङ, इन्जिनियरिङ, खानेपानी व्यवस्थापन, अस्पताल फोहर व्यवस्थापन, सुरक्षा, एम्बुलेन्स सेवा, मेडिकल एण्ड लजिष्टिक सेवा,अस्पताल भान्सा र सामाजिक सुरक्षा इकाईबाट बिरामीलाई आवश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) ले बताए। एम्बुलेन्स सेवा, मेडिकल एण्ड लजिष्टिक सेवा,अस्पताल भान्सा र सामाजिक सुरक्षा इकाईबाट बिरामीलाई आवश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।
कुन विभागमा कति शय्या?
सेती प्रादेशिक अस्पताल सरकारी ५० र समितिको ७५ गरेर जम्मा १२५ शय्या क्षमतामा चलाइएको अस्पताल हो। तर, अहिले ३०२ शय्याबाट बिरामीको उपचार भइरहेको छ। अस्पतालमा मेडिसिनका लागि ३६ शय्या, सर्जरीका लागि ४८ शय्या, बालरोग तथा एनआइसियू ३० शय्या, प्रसूतिका लागि ७५ शय्याको व्यवस्थापन गरिएको छ। यसैगरी, आकस्मिक कक्षमा २० शय्या, अब्जर्भेसनमा १५ शय्या, आइसियू १५ शय्या, एचडियू ४ शय्या, डायलाइसिस २० शय्या, एनआरएच १० शय्या, क्याबिन १ शय्या, एनआइसियू ९ शय्या र प्रस्तावित पोष्ट  ओपरेसन वार्डमा २० शय्या हुनेछन्।
जनशक्तिको स्थिति यस्तो छ
सेती प्रादेशिक अस्पतालमा स्थायी, करार ज्यालादारी र अस्पताल विकास समितिले नियुक्त गरेका सहित ३६७ जना जनशक्ति कार्यरत छन्। जसमध्ये कन्सलटेन्ट डाक्टर ४२ जना मेडिकल अफिसर २३ जना, नर्सिङ स्टाफ १६० जना, प्यारामेडिक्स÷टेक्निसियन ६१ जना, सहयोगी कर्मचारी ६० जना, प्रशासनिक कर्मचारी २१ जना छन्। अस्पतालमा ३०२ शय्या सञ्चालन गर्न ७७० जना जनशक्ति आवश्यक रहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताए। हिसाब गर्दा सेतीमा अझै ४०३ जना चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारी आवश्यक रहेको उनले बताए।
तीन वर्षमा कतिले पाए उपचार?
सेती प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७७/७८ मा ५९ हजार ६२९, आर्थिक वर्ष २०७८/७९ मा १ लाख ६ हजार ७६८ र आर्थिक वर्ष २०७९/८० मा २ लाख ३५ हजार ३१८ बिरामीको ओपिडीमा उपचार भएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताए। सेतीमा आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ६७९ बिरामीको उपचार आकस्मिक कक्षबाट भएको छ भने आर्थिक वर्ष २०७८/७९ मा २८ हजार ८६८ र आर्थिक वर्ष २०७९/८० मा ३६ हजार २१० बिरामीको आकस्मिक कक्षमा उपचार भएको तथ्याङ्क छ।

प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७७÷७८ मा ५ हजार ४५८ महिलाले प्रसूति सेवा लिएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ९८ र गत आर्थिक वर्षमा ७ हजार ८१ ले प्रसूति सेवा लिएका छन्। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १ हजार २१७, आर्थिक वर्ष २०७८/७९ मा १ हजार ४६१ र आर्थिक वर्ष २०७९/८० मा १ हजार ५८९ को शल्यक्रिया गरिएको तथ्याङ्क छ।

सेती प्रादेशिक अस्पतालले विपन्न र लक्षित वर्गलाई निश्चित रकम बराबरको निःशुल्क उपचार गराउँदै आएको छ। अस्पतालको अभिलेखमा सामाजिक सुरक्षा इकाईबाट आर्थिक वर्ष २०७७/७९ मा ३२ हजार ३४९ जनाले उपचार सहयोग पाएका छन् भने आर्थिक वर्ष २०७८/७९ र गत आर्थिक वर्षमा क्रमशः २७ हजार ३८६ र २० हजार ३१८ जनाले उपचारमा सहयोग पाएका छन्। सामाजिक सुरक्षा इकाईबाट १० हजार रुपैयाँ बराबरको उपचार निःशुल्क हुने गरेको छ।

सेतीमा दैनिक ४० देखि ४५ जना बिरामीको डायलाइसिस हुने गरेको छ भने स्वास्थ्य बीमा कार्यक्रमबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजार २४४, आर्थिक वर्ष २०७८/७९ मा २० हजार ७९६ र आर्थिक वर्ष २०७९/८० मा ४० हजार ८१९ जनाले सेवा लिएका छन्। तीन आर्थिक वर्षमा सेतीमा भर्ना भएर उपचार सेवा लिनेको संख्या पनि क्रमशः बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा १४ हजार ४८८ बिरामी अस्पताल भर्ना भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा १४ हजार ७२५ र आर्थिक वर्ष २०७९/८० मा १८ हजार ३३१ बिरामी अस्पताल भर्ना भएका छन्।
अस्पताल सुधारमा तीन महिनामा भएका प्रयासहरू
तीन महिनायता अस्पतालको सेवामा सुधार ल्याउन केही नयाँ प्रयास गरिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताए। उनले अस्पतालको वेबसाईट निर्माण, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, अध्यक्ष, २४ सैं घण्टा ड्युटीमा रहने अफिसर र सूचना अधिकारीको आफिसियल सम्पर्क नम्बर लिइएको र हरेक दिन बिहान दैनिक क्रियाकलाप/समस्या र समाधानका विषयमा कन्फ्रेन्स गर्ने चलन बसालेको बताए।

अस्पतालमा नियमित बैठक, अस्पतालमा बृद्धावस्थाका बिरामीलाई पालो कुर्दा बस्ने कुर्सीहरूको निर्माण गरिएको, अस्पताल भवनको रङरोगन, १५ शय्याको अब्जरभेसन वार्ड निर्माण र आकस्मिक कक्ष बाहिर बस्ने ठाउँमा छानो निर्माण गरेको बताए। यसैगरी, ओपिडी ८ बजेदेखि सुरू गरिएको, टिकट काउन्टरको संख्या बढाइएको, बृद्ध र अशक्त बिरामीका लागि टिकट काट्ने र चेकजाँच गर्ने अलग्गै लाइन, युसिजीको समस्या हल, समयमै सिटीस्क्यानिकको रिपोर्टिङ, शल्यक्रिया कक्षको निर्माण, अलग्गै एमसिएच क्लिनिक, स्टाफ मोटिभेसन, रेकर्ड तथा रिपोर्टिङ, विद्युतीय हाजिरी, विद्युतीय नागरिक वडापत्र र ओसिएमसी व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहले बताए। यसैगरी, तीन महिनामा फार्मेसी सेवाको विस्तार, अस्पतालको छुट्टै भवनमा प्रयोगशाला सञ्चालन, पार्किङ व्यवस्थापन र विभागीय प्रमुखहरूको बैठक नियमित गर्न थालिएको अस्पताल व्यवस्थापन समितिको दाबी छ।
यी हुन् सेती अस्पतालका प्रमुख चुनौती
जनशक्ति अभाव नै सेती प्रादेशिक अस्पतालको प्रमुख चुनौती रहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताए। प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरे पनि अहिलेसम्म संगन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्म भएको छैन। अस्पतालको अर्को समस्या भनेको निर्माणाधीन नयाँ भवन हस्तान्तरण नहुनु हो। पाँच वर्षदेखि निर्माणाधिन भवनको काम अझै पूरा नहुँदा अस्पताललाई सेवा विस्तार गर्न समस्या परेको अध्यक्ष शाहको तर्क छ।

अस्पतालमा शल्यक्रिया र विभिन्न परीक्षण गर्न उपकरणको अभाव हुनु अर्को चुनौती रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। औषधिको गुणस्तर, बिरामीको चाप व्यवस्थापन, अस्पतालको सरसफाइ, सेवाग्राहीको भिड र शल्यक्रिया गर्नुपर्ने बिरामीको लामो प्रतिक्षाको सूची, डाक्टरहरूको ड्युटी र उत्तरदायित्व, स्वास्थ्यकर्मी र बिरामीको बोली, व्यवहारमा समस्या, स्थान अभावमा निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता जस्ता समस्या र चुनौती रहेको डाक्टर कमरले बताए।
सेती अस्पतालका अपेक्षाहरू
सेती प्रादेशिक अस्पतालको स्तरोन्नति हुनैपर्ने अपेक्षा अस्पताल व्यवस्थापन समिति र प्रशासनले मात्रै गरेका छैनन्। अस्पतालको स्तरोन्नति न्यूनतम सर्त हो भन्ने कुरा सुदूरपश्चिमका हरेक नागरिकले बुझेका छन्। प्रदेश सरकारले अस्पतालको स्तरबृद्धि गरे जनशक्ति व्यवस्थापनको समस्या हल भएर उपचार सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसैगरी अस्पतालमा कार्यरत कर्मचारीलाई उत्प्रेरित गर्ने, अपुग जनशक्ति व्यवस्थापन गर्ने,  अस्पतालका लागि छुट्टै डेडिकेटेड विद्युत लाइन हुनुपर्ने, पिउने पानीको व्यवस्थापन लगायत सहयोग र जनसमर्थन आवश्यक रहेको अस्पताल प्रशासनले जनाएको छ।
सेतीको भविष्य कस्तो हुनुपर्छ?
सेतीको बिनासर्त स्तरोन्नति हुनुपर्छ भन्ने मान्यता अस्पताल व्यवस्थापन र प्रशासनको छ। सामाजिक विकास मन्त्रालयले पनि अस्पताल सुधार र स्तरोन्नतिको काम सेती प्रादेशिक अस्पतालबाट गर्ने जनाएको छ। वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले मन्त्रालयले अस्पताल सुधार र स्तरोन्नतिको काम सेतीबाट सुरु गरेको बताए।

मन्त्री साउँदले चालु आर्थिक वर्षभित्रै सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने बताए। यो आर्थिक वर्षभित्रै सेतीको ओएनएम ल्याएर अस्पतालहरूको स्तरोन्नति र सुधारको काम थालिने दाबी गरे। सेतीमा उपचार मात्रै होइन शैक्षिक गतिविधि पनि हुनुपर्छ भन्ने योजना अगाडि सारिएको छ। निकट भविष्यमै प्यारामेडिक्स, एमडी र एमएसको पढाइ गर्ने लक्ष्य तय गरिएको छ। अस्पतालमा एमआरआई सेवा सञ्चालन, नयाँ भवनमा आइसियू र प्रसूति सेवा सञ्चालन, सेवा विस्तार र सुधार गरिनुपर्ने योजना अस्पतालले बनाएको छ।
अस्पतालले भोगिरहेका समस्याहरू
सेती प्रादेशिक अस्पतालमा रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्टको अभाव छ। शल्यक्रिया गर्न एनेस्थेसियोलोजिस्ट आवश्य पर्ने र रोगको निदान गर्न रेडियोलोजिस्ट आवश्यक भए पनि २/२ जना रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्ट मात्रै सेतीमा कार्यरत छन्। रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्टको विज्ञापन गर्दा पनि निवेदनसम्म नपरेको अस्पतालले जनाएको छ।

सेतीमा प्रसूति रोग विषेषज्ञ, मेडिकल अफिसरको संख्या पनि अस्पताल आउने बिरामीको तुलनामा निकै कम छ। यसैगरी, गुणस्तरीय उपकरण, खानेपानी र विद्युत आपूर्तिमा समस्या छ। अस्पतालसँग विपद् र महामारी व्यवस्थापन गर्न योजना, स्रोत र साधन अभाव छ। सेतीको सेवा प्रभावकारी र सहज बनाउन अस्पताललाई तीन सय शय्यामा चलाइनुपर्नेमा समेत अस्पताल प्रशासनको जोड छ। सामाजिक विकास मन्त्री साउँदले सेतीको विगत जति गौरवपूर्ण छ भविष्य त्योभन्दा सुनौलो रहने बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस