धरौटी बुझाएर रिहा भए पुर्वगृहमन्त्री खाण
काठमाण्डौँः कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण सम्पत्ति शुद्धीकरणको अभियोगमा १५ लाख रुपैयाँ धरौटी बझाएर रिहा भएका छन्।
अदालतले कायम गरेको कुल धरौटीको आधा धरौटी कायम गरेर उनलाई धरौटीमा रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले बताए। त्यसका लागि खाण आज दिउँसो विभागमा हाजिर भएका थिए। त्यसक्रममा उनले नबिल बैंकको १५ लाख बैंक ग्यारेन्टी राखेको महानिर्देशक शाहीले बताए।
विभागले खाणलाई माघ १५ गते तारिखमा बोलाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रहरीले विभागमा लेखेर पठाएको थियो। यसअघि खाणले आजै जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बैंक धरौटी बुझाएका थिए। नक्कली शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका खाण उच्च अदालतको आदेशमा धरौटीमा छुटेका हुन्।