कैलालीमा ठगी गर्ने समूह सक्रिय, बर्सेनि उजुरीको संख्या बढ्दै
धनगढीः कैलालीमा ठगी सम्बन्धीका उजुरीको संख्या बर्सेनि बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी सम्बन्धीका उजुरीको संख्या बर्सेनि बढ्दै गएको पाइएको हो। आर्थिक वर्ष २०७७/७८ मा ठगी सम्बन्धीका ८ उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएकामा आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या ९ पुगेको हो। ठगी सम्बन्धी कानुनमा बिगो बमोजिमको धरौटी र पाँचवर्षसम्म कैद हुने प्रावधान रहेको छ। जिल्लाभित्र विभिन्न बाहाना बनाएर ठगी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।
डर देखाएर ठगी गर्ने, बैङ्किङ कसुर गर्ने, विदेश पठाइदिने भन्दै ठगी गर्ने, सहकारीमार्फत ठगी गर्ने, जग्गा देखाई ठगी, कालोबजारी गर्ने, सरकारी किर्ते छाप दस्तखत गर्ने लगायत विभिन्न ठगीका घटना बढ्न थालेको प्रहरी तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष २०७९/८० मा मात्र जिल्ला प्रहरी कार्यालय कैलालीमा सबैभन्दा बढी २५ ठगी सम्बन्धीका उजुरी दर्ता भएको अभिलेख छ।
दर्ता भएका उजुरीमध्ये २१ वटा उजुरीको अन्तिम टुंगो लागिसकेको छ भने चारवटा उजुरीको टुंगो लाग्न बाँकी छ। गत वर्ष कैलालीमा सहकारी छाप दस्तखत किर्ते ९ तथा बैङ्किङ कसुर सम्बन्धीका एक सय तीन उजुरी दर्ता भएको कैलाली जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ। यसरी विभिन्न आश्वासन र प्रलोभन देखाएर ठगी गर्ने समूह जिल्लाभित्र अहिले पनि सक्रिय रहेको पाइएको छ।
विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई विभिन्न आर्थिक लाभ देखाएर ठगी गर्ने समूहको सञ्जाल सक्रिय भए पनि अधिकांशलाई कानुनीमा दायरामा ल्याउन नसकिएको पीडितहरूको गुनासो छ।