धनगढीका चित्रकार भरत सिंह भारतमा प्रख्यात, एउटै चित्र १२ लाखमा विक्री (अडियो रिर्पोट)
भनिन्छ चित्रकला मानव प्राण वा आत्मामा भण्डारण गरिएको गुलियो र मिठो मह हो । कलाको यहि मिठो मह बोकेर डोटी जन्मथलो भई कैलालीको धनगढी उप–महानगरपालीका वडा नम्वर ६ मट्यारीका भरत सिंह धेरै नेपालीको सपनाको शहर भारतको मुम्वैमा छन् ।
जिवन र जगतलाई कुचीको माध्यमबाट चित्र बनाउदै सिह विगत लामो समयदेखी मुम्वैमा चर्चामा छन् । मुम्वैको बरोलीमा त्यहाँको नगरपालीकामा सरकारी जागीरे वुवा नर वहादुर विकले ८ बर्षको उमेरमै भरतलाई परिवार सहित मुम्वै लगे । मुम्वैमा नै भरतको पढाई लेखाई भयो तर भरतको पढाईलेखाई भन्दा पनि चित्रकार बन्ने सपना मनको एउटा कुनामा लुकेर बसेको रहेछ ।
१०, १२ बर्षको उमेरदेखि नै नोटका चित्रहरु, नायक नायीकाहरुका चित्रहरु हुवहु उतार्न सक्ने क्षमता भएका भरतको चित्रकला प्रति सानैदखी एउटा अदभुत रुची र क्षमता थियो । रोचक कुरा त के छ भने भरतका चित्रकलाका गुरु कोही पनि छैनन् । सानो उमेरदेखी नै पेन्सिल, रंग, कागज किनेर आफैले चित्र वनाउने अभ्यास गर्दा गर्दै भरतलाई अहिले भारतको नामी र प्रख्यात चित्रकार बनाईदिएको छ ।
अहिले भरतको चित्रको पारखी बलीवुडका चर्चीत कलाकारदेखी प्रतिष्ठीत व्यापारी पनि छन् । रंग पोतेर गर्ने कलामा सुरुवातमा केहि ज्ञान नभएपनि अभ्यासले उनलाई सफल बनाएको हो । भरतले बनाएका चित्रहरु आफ्नै क्षेत्र कैलाली र सुदुरपश्चिममा नभएपनि भारतका धेरै चर्चीत व्यक्तिहरुका घर, कार्यालयहरुमा सजाईएका छन् ।
अभिनेता अमिताभ बच्चनदेखी चर्चीत व्यापारी मुकेश अम्वानीको घरमा भरतको चित्रकलाले स्थान पाएको छ । नेपालमा चित्रहरुको मुल्य अहिले पनि हजारमै रहेका बेला भरतसंग एउटै चित्र १२ लाखमा विक्री गरेको पनि अनुभव छ । भारतमा सरकारी जागीर र सरकारले नै दिएको आवासको सहारामा आजभन्दा झण्डै २२ बर्ष अगाडी भतरका वुवा नरवहादुरले मुम्वैमा परिवार लगे ।
तर अहिले चित्रकलाकै माध्यमले भरतले संसारकै सबैन्दा बढि महङगो जग्गा भएको मुम्वै जस्तो महानगरमा घर बनाएका छन् भने कार पनि जोडेका छन् । मुम्वैमा नै एउटा चित्रकलाको स्टुडीयो खोलेर भरतको कलाकारीता बेला–बेला विभीन्न स्थानमा गरीने चित्रकला प्रदर्शनी मार्फत देखीन्छ ।
३१ बर्षको लक्का जवानकै उमेरमा भरतले मुम्वैमा गएर कलाकारीताकै माध्यमबाट घर जोडे, गाडी जोडे अनि धनसम्पती पनि जोडे । तर एउटा बेग्र ईच्चा भरतको मनमा जिवीत नै छ । आफ्नो जन्मथलोका लागी केहि गर्ने । बर्षको एक, दुई पटक धनगढी पुगीहाल्ने भरतले छिट्टै सुदुरपश्चिममा आएर यहाँको कला, सस्कृती र पर्यटकीय क्षेत्रलाई आफ्नो चित्रकलामा समेट्ने योजना बनाएका छन् ।
भनिन्छ नेपालीहरु, मजदुरी गर्न र डण्डा बजाउन मुम्बई जान्छन, तर भरतले नेपालको पहिचान आफ्नो कलाबाट त्यहाँ देखाएका छन । कलाकार मरेपनि कला मर्दैन । त्यहि भनाईलाई सार्थक बनाउनका लागी मुम्वैमा भरतले गरेको संघर्ष र पाएको सफलताको चर्चा जति गरेपनि कम हुन्छ ।
अडियो रिर्पोट सुन्नुहोस :