सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीव्र विकासको अपेक्षा

२०८० असार २, ०४:१२

सुरेन्द्र बोहरा, धनगढी: ‘हाम्रो धनगढी हामी बनाउछौँ' अभियान अन्तर्गत हामीले तीव्र विकासको अपेक्षा गरेका छौँ। यसका लागि सबै वडा अध्यक्ष ज्युहरुको सक्रिय भूमिकाको अपेक्षा समेत हामी नगरवासीले गरेका छौँ। तर,  नगरवासीको तीव्र विकासको अपेक्षालाई अझै पनि वडाअध्यक्षहरुले बुझ्न सकेका छैनन्।

अब जनताले पार्टीलाई नभई राम्रो इमान्दार र देश विकास गरी जनताहरूलाई सेवा सुबिधा तथा रोजगारी दिलाउने व्यक्तिलाई चुनाव जिताउनु पर्छ। अबका चुनावमा  जनताले छानी–छानी आफ्नो प्रतिनिधि चयन गर्नु जरुरी छ। कारण बिगत ३२ वर्षदेखि भोगियो र देखियो। पार्टीका नेताहरूले दिएको झुटो आश्वासन र चुनावको बेला भोटका लागि बाँडेको पैसाले देशका जनताहरू गरिव र बेरोजगार हुनु परेको छ।

जनता जबसम्म पार्टीभन्दा माथि उठेर आफ्नो स्वविवेक प्रयोग गर्न सक्दैनन्। जबसम्म प्रश्न सोध्ने हिम्मत देखाउन सक्दैनन्। तबसम्म दलहरूले मनोमानी गरी रहनेछ्न्। दलमा आवद्ध व्यक्तिलाई स्थानीय चुनावमा जिताउँदा उनीहरूको प्राथमिकता दल र तिनका नेता पर्छन्। उनीहरुको मनमा जनताभन्दा पार्टीका नेताको सेवा गर्नुपर्छ भन्ने भूतले डेरा जमाएको हुन्छ।

जनतालाई हेर्ने फुर्सद तिनीहरूमा हुन्न। नजिकका कार्यकर्ताको हितभन्दा माथि उठेर सबैका लागि काम गर्न दलबाट जितेका स्थानीय तहका जनप्रतिनिधि काम गर्न सक्दैनन् भन्ने कुरा विस्तारै सर्वसाधारणले पनि बुझ्न थालेका छन्। ‘सकारात्मक सोचौँ।सकारात्मक बनौँ। सकारात्मक कार्य गरौँ। रचनात्मक सहयोग गरी समुन्नत समाज निर्माण गरौँ भन्ने नेतृत्व नहुँदा अहिलेसम्म धनगढीको विकास हुन नसकेको हो।

सरकारको आसमा बस्ने तर आफ्नो तहबाट केही गर्न नसक्ने भएका कारण धनगढीको विकास नभएको हो। विकासको नाममा राजनीतिको फोहोरी खेल खेल्ने बानी परिसकेका भ्रष्टाचारीहरुलाई अब धनगढीवासीले मात्रै नभई सम्पूर्ण देशवासीले बहिष्कार गर्नुपर्छ। 'आफ्नो ठाउँ! आफै बनाऔँ' भन्ने नारा एक सिद्धान्तको रुपमा स्थापित हुने छ। जसको श्रेय नगरप्रमुख गोपाल हमालाई जान्छ।

'हाम्रो धनगढी हामी बनाउछौँ' यो नारा पूरै धनगढीवासीकै हो। पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ, ठाउँ आफै बनाई आत्मनिर्भर बन्नुपर्छ भन्ने यो नारा गजबको छ मेयर साहब। धनगढीमा भइरहेको विकासको गतिलाई मापन गर्ने हो भने अहिले गति बढेको छ। नेपाली माटो सुहाउँदो नेपालीपन झल्कने सामाजिक सद्भाव कायम गर्दै विकासका काम भइरहेका छन्। 

दिगो विकासका कार्य गर्दै सामुदायिक र सामुहिक  अगुवाइ गरेर काम भइरहेको हामीले देखिरहेका छौँ। यो निकै राम्रो छ। यदि साच्चिकै नेपाल सुशासनयुक्त बनाउने हो भने मेयर गोपाल हमाल, सुदन किँराती, हर्कराज साम्पाङ् राई, बालेन्द्र शाह, महावीर पुन, डाक्टर सन्दुक रुइत, कुलमान घिसिङ जस्ताले नेतृत्व गर्नुपर्छ। यो कुरामा अन्यथा नमान्नुहोला वास्तविक तितो यथार्थ यही हो।

पार्टीहरुले अझै बुझेका छैनन्। आशन र भाषणमा लिप्त मानसिक दरिद्रता भएको व्यक्तिले देश बदल्ने कसम खाँदैमा देश बदलिँदैन। बरू त्यो व्यक्ति आफै बदलिन सक्छ। धनगढीका मेयर हमालले धनगढीको विकासका लागि काम गरिरहेका छन् भन्ने विश्वास सर्वसाधारणमा छ। यो कुराको अवश्य एकदिन जनताले उच्च मूल्याङ्कन गर्नेछन्। धनगढीका जनताले मेयरमा गोपाल हमाललाई रोजेर उच्च नागरिक क्षमता प्रदर्शन गरेका हुन्।

फलस्वरूप मेयर हमालले प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्य गरेर काम गरेको देखिएको छ। यो कुराले थप चार वर्ष निरन्तरता पाउने विश्वास छ। पाँच वर्षसम्म मेयर हमालले गरेको काम हेरेर स्थानीय तहमा कस्तो व्यक्तिलाई चुनाव जिताउनु पर्दो रहेछ भन्ने कुरा प्रष्ट हुने छ। यो पाँच वर्षमा मेयरलाई कसले सहयोग ग¥यो कसले गरेन अनि किन गरेनन् भन्ने कुराको लेखाजोखा पनि धनगढीका मतदाताले राख्न जरुरी छ।

मेयरको भिजनको तगारो बन्ने जो कोहीलाई २०८४ को चुनावमा उचित दण्ड दिनुपर्छ। यो पाँच वर्षमा नेतृत्वमा कस्तो भिजन हुनुपर्छ भन्ने कुराले पनि सबैको चेतन खुल्ने छन्। मेयर साब! तपाई अगाडि  बढनुहोस्। धनगढीका जनताले हरदम साथ दिने छन्।

सुन्दर, सफा र समृद्ध धनगढीको सपना बोकेर मेयर गोपाल हमाल निर्वाचित भएको एक बर्ष नपुग्दै धनगढीलाई विश्वासै नलाग्ने गरेर परिवर्तन गर्नुभएको छ। मेरो करोडौं–करोड शुभकामना। (लेखक धनगढीका उद्यमी एवं न्यु ईरा एकाडमी बोर्डिंग स्कूलका संस्थापक हुन्।)

कमेन्ट लोड गर्नुस