सुदूर नेपाललाई विश्वसँग जोड्दै

'लोकतान्त्रिक गणतन्त्रको लाभ नेताहरुले मात्र उठाए'

२०८० जेठ १५, ०६:५७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पनि सोमवार १६ औं गणतन्त्र दिवस मनाएको छ। २०६२/०६३ को आन्दोलनको जगमा २०६४ मा भएको संविधान सभाको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

एकात्मक राज्य व्यवस्था र २ सय ३८ वर्षको इतिहास बोकेको राजसंस्थाको अन्त्य भएको घोषणा गरिएको अवसर पारेर जेठ १५ मा गणतन्त्र दिवस मनाइदै आएको छ। तर, सुदूरपश्चिमका जनताले भने गणतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन्। गणतन्त्रको विकल्प गणतन्त्र नै भए पनि दल तथा नेताहरूका कारण जनताले गणतन्त्रको मर्मअनुसार फरकपनको अनुभव गर्न नपाएको कञ्चनपुरको महेन्द्रनगरका युवा दिपिन कार्कीले बताए। 'दल र नेताका लागि फलिफाप गणतन्त्रमा सर्वसाधारणले भने फरक अनुभूति अझै गर्न पाएका छैनन्,' उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र आएको १६ वर्षमा राज्यका सबै निकाय र सामाजको दलीयकरण भएको छ। जनतालाई दास बनाउने काम मात्रै भयो।'

सुदूरपश्चिमका जनताले गणतन्त्रमा पनि राज्यका निकाय र राजनीतिक दलमा सुधार नभएको बताएका छन्। मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १६ वर्षसम्म पनि गणतन्त्रको लाभ नेताले मात्र लिइरहेको प्रदेशवासीले गुनासो गरेका हुन्। व्यवस्था फेरिए पनि नागरिकको अवस्थामा सुधार नआउँदा गणतन्त्र सिमितका लागि मात्रै आएको अनुभव कैलालीको गौरीगङ्गाका मोहन विष्टलको छ। 'गणतन्त्र आएको डेढ दसक भएको छ तर यसले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन,' उनले भने, 'नेताको जीवन भव्य भयो तर जनताको अवस्थामा उस्तै छ।'

गणतन्त्र आएको डेढ दशक पूरा हुँदै गर्दा यो व्यवस्थामा सक्रिय राजनीतिक दलहरूले कानूनको धज्जी उडाउँदै व्यवस्थाको बदनाम गरेको सर्वसाधारणको गुनासो छ। दल र नेताका गतिविधिले गणतन्त्रप्रति वितृष्णा जगाउने काम गरेको सुदूरपश्चिमवासीले गुनासो गरेका छन्। गणतन्त्र आएको १६ वर्षसम्म पनि संक्रमणकाल लम्बिनु, सरकारको स्थायीत्व नहुनु, भ्रष्टाचार र दण्डहिनताले प्रसय पाइरहेको प्रदेशवासीको अनुभव छ।

संविधानको पूर्ण कार्यान्वयन गरेर देशमा विद्यमान समस्या समाधान गर्न राष्ट्रिय संकल्पका साथ सबै दल र नेताहरूले काम गर्नुपर्नेमा सत्ता र स्वार्थ केन्द्रीत कार्यमा दल तथा नेता लागेकाले गणतन्त्र बदनाम हुन पुगेको धनगढीका काशीराम विष्टले बताए।
'गणतन्त्र थोरैका लागि आयो। गणतन्त्रमा सयौं राजाहरूको जन्म भयो,' उनले भने, 'आसेपासेले फाइदा लुट्ने काम गरेका छन् भने सर्वसाधारणका दुःख उस्तै छन्। यस्तोलाई पनि के गणतन्त्र भन्ने? लोकतान्त्रिक गणतन्त्रको लाभ नेताहरुले मात्र उठाए।'

गणतन्त्र आएपछि पनि युवा पलायन नरोकिएको, राज्यका सबै निकाय र समाजमा थप दलीयकरण भएको भन्दै सर्वसाधारणले असन्तुष्टी पोखेका छन्। शिक्षा, रोजगारी र उपचारका लागि विदेशिनु परेको राजनीतिक पात्र र प्रवृत्तिमा अझै परिवर्तन नआएको सर्वसाधारणको गुनासो छ।

तर, सुदूरपश्चिम प्रदेश सरकारले भने नेपाली जनताको त्याग र बलिदानीबाट स्थापित गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास गरेर आर्थिक समृद्धि हासिल गर्ने बताएको छ। लोकतान्त्रिक संस्कार, संस्कृति र मूल्य मान्यतामा आधारित समतामूलक सामाज निर्माण गर्न र सुशासन प्रवद्र्धधन गर्न गणतान्त्रिक व्यवस्थाले प्रेरणा दिने सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताए।

मन्त्री देउवाले २०६२/०६३ को जनआन्दोलनको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवन पद्धतिका रुपमा स्थापित गर्नुपर्ने बताएका छन्। उनले प्रदेश सरकारले जनतालाई अनुभूति हुने गरी विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्य पुष्टि गर्न इमानदार प्रयास गर्ने बताएका छन्।

गणतन्त्र घोषणा पश्चात् राज्य सत्ताको मालिक हरेक नागरिक भएको ग्यारेन्टी संविधानले गरेको सरकार तथा राजनीतिक दलहरूले बताउने गरेका छन्। तर, व्यवहारमा भने नागरिकले अझै फरक अनुभुति गर्न सकेका बताएका छन्। 
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस