सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको क्षमता बढाउन प्रदेश सरकार अनिच्छुक

२०८० जेठ १२, ०६:५८ नारायण अवस्थी

धनगढीः प्रदेश सरकार मातहतको सेती प्रानदेशिक अस्पतालमा सेवा विस्तार भए पनि जनशक्ति भने न्यून छ। सेतीमा उपचार गर्न आउने बिरामीको संख्या दैनिक एक हजार माथि छ। तर, जनशक्ति भने २०४० मा कायम दरबन्दीमै अपुग छ। अस्पतालमा उपचार सेवाको विस्तार भए पनि चिकित्सक, नर्सिङ र प्यारामेडिकल जनशक्ति अपुग हुँदा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन्।

अस्पतालमा जाँदा उपचार गराउने पालो नपाएको बिरामीले बताउने गरेका छन्। २०४० मा नेपाल सरकारले कैलाली जिल्ला अस्पतालको नाम फेरेर सेती अञ्चल अस्पताल राखेको हो। जिल्लाबाट अञ्चल अस्पताल भएपछि सरकारले सेतीलाई ५० शय्याको अस्ततालमा स्तरवृद्धि गरेको थियो। ५० शय्याका लागि तत्कालीन सरकारले १०६ दरबन्दी कायम गरेको थियो। सेती अस्पताल प्रदेश सरकार मातहत आएपछि अहिले प्रादेशिक अस्पताल भएको छ।

प्रदेश सरकार मातहत आएर नाम परिवर्तन र उपचार सेवा थप गरिए पनि जनशक्ति र भौतिक संरचनाका हिसावले सेतीले आउने सबै बिरामीको उपचार गर्न नसक्ने अवस्था छ। १०६ जनाको सरकारी दरबन्दीमै ३८ पद रिक्त छन्। अस्पतालमा चिकित्सक र नर्सिङ जनशक्ति आवश्यकताभन्दा कम हुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए।

‘सेतीमा चिकित्सक र नर्सिङ स्टाफ दरबन्दीअनुसार छैनन्,’ उनले भने, ‘स्थायी दरबन्दी र अस्पताल विकासबाट नियुक्त चिकित्सक र नर्सिङ स्टाफको दरबन्दी पनि रिक्त छन्। जसले गर्दा अस्पतालको सेवा प्रभावित हुने गरेको छ।’ ५० शय्याको स्वीकृत दरबन्दी रहेको सेतीमा अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गरेर १२५ शय्या क्षमतामा अस्पताल चलाइएको छ।

व्यवस्थापन समितिबाट ८६ जनाको दरबन्दी सिर्जना गरिएको छ। अस्पताल व्यवस्थापन समितिको दरबन्दीमा पनि १४ दरबन्दी रिक्त छन्। अस्ताल व्यवस्थापन समितिले नियुक्त गरेका चिकित्सक र नर्सिङ कर्मचारी थप अध्ययन गर्न बिचमै छोडेर जाने गरेका छन्। जनशक्तिको अभावले सेतीमा आएका सबै बिरामीले उपचार सेवा नपाउने समस्या छ।

अस्पतालमा बिरामीलाई गुणस्तरीय उपचार सेवा दिन नर्सिङ कर्मचारीको भूमिका महत्वपूर्ण हुने भए पनि संख्या निकै कम रहेको सूचना अधिकारी उपाध्यायले बताए। ‘अस्पतालको उपचार गुढस्तरीय हुन नर्सिङ स्टाफको भूमिका महत्वपूर्ण हुन्छ। तर सेतीमा स्टाफ नर्स पनि निकै थोरै छन्,’ उनले भने, ‘दरबन्दी र अस्पताल विकासको ३४÷३५ जना स्टाफ नर्स मात्रै छन्। केही विभिन्न कार्यक्रमबाट व्यवस्थापन गरिएको छ।’

नयाँ दरबन्दी तेरिजअनुसार ५० शय्याको अस्पतालका लागि १४९ जनाको दरबन्दी कायम हुनुपर्छ। तर, सेतीमा भने पुरानै १०६ जनाको दरबन्दीमा पनि ३८ पद रिक्त छन्। सेवा विस्तारका हिसावले सेतीमा १५ शय्याको आइसियु, सिटिस्क्यान, १४ शय्याको डायलाइसिस सेवा भर्खरै विस्तार भएको छ। आइसियु, डायलाइसिमा र प्रसुति वार्डमा एक बिरामीका लागि एक जना स्टाफ नर्स हुनुपर्छ।

यस्तै, बालबालिका वार्ड, सर्जिकल वार्ड, मेडिकल वार्ड, आकस्मिक कक्षमा एक जना स्टाफ नर्सले बढीमा ६ जना बिरामी हेर्नु उपयुक्त मानिन्छ। तर, सेतीमा भने एकै जना स्टाफ नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था छ। अस्पतालमा बर्सेनि सेवा थपिँदै गए पनि जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारले ध्यान दिन सकेको छैन। अहिले पनि सेतीमा तीन सय ५० शय्या सञ्चालनमा छन्।

प्रदेशभरका बिरामी आउने सेतीमा थप सेवा विस्तार गर्नुपर्ने खाँचो छ भने अहिलेका सेवाको गुणस्तर बढाउनुपर्ने आवश्यकता छ। तर, प्रदेशकै सबैभन्दा ठुलो अस्पतालमा जनशक्ति व्यवस्थापन र भौतिक संरचनाको अभावमा बिरामीले गुणस्तरीय उपचार सेवा नपाउने समस्या छ। अस्पतालको सेवा प्रभावकारी बनाउन सरकारले दुई सय शय्याको स्वीकृति प्रदान गर्ने र सोहीअनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिन्छ। 

प्रदेश सरकारले सेतीलाई दुई सय शय्यामा स्तरोन्नति गर्ने बताउँदै आए पनि नीतिगत र व्यवहारिक रुपमा प्रगति भएको छैन। अस्पतालले दुई सय शय्याको संगठन संरचना बनाएर सामाजिक विकास मन्त्रालय र मन्त्रालयले मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाए पनि स्तरवृद्धि हुने संकेत मुख्यमकन्त्री कार्यालयबाट मिलेको छैन। आफैले दुई सय शय्यामा सेती प्रादेशिक अस्पताल चलाउने बताउँदै आएको प्रदेश सरकारले दरबन्दी संरचनाको प्रस्ताव स्वीकृत नगरेको छैन। सरकारले यो पटक आर्थिक कारण देखाएर स्तरवृद्धि गर्ने कामबाट पन्छिने संकेत दिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस