सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरीको पास्नी भन्दा गाउँलेले आश्चर्य माने! 

२०८० वैशाख २७, ०५:२४ विन्दु चन्द

धनगढीः भनिन्छ छोरी भनेकी लक्ष्मी हुन्। जुन घरमा छोरी जन्मीन्छे त्यो घरमा लक्ष्मीको बास हुन्छ। यो भनाई त सबैको मुखबाट सुन्न सकिन्छ तर, त्यही छोरीको जन्म हुनुमा घर परिवार तथा गाउँले इष्टमित्रमा खल्लो महसुस नै हुन्छ। छोरी लक्ष्मी हुन भनेर पनि भन्ने, छोरी जन्मीँदा खल्लो पनि मान्ने?

गर्भवती भएको ३ महिनापछि परिवारका सदस्यसहित धेरै जना आफन्तले गर्भमा के छ? भनेर चेक गर्न ताकेता गर्न थाले। बच्चा नजन्मीँदासम्म सक्दो जती सबैजनाले ताकेता गरिरहन्थे। तर मेरो एउटै जवाफ हुन्थ्यो, मेरो गर्भमा मुसा विराला त नहोलान, जे भएपनि मान्छे नै होला। जनावर पनि हुने भए त चेक गर्थे। अनि नराज हुने, रिसाउने गर्थे भने, भनेको टेर्देन भनेर पनि भन्थे। 

धेरैले त गर्भमा छोरा छ वा छोरी छ? पेटको आकार हेरेर पनि थाहा हुन्छ भन्थे। कतिले त छोरा नै हुन्छ भनेर भन्थे। ९ महिना ११ दिनपछि बच्चाको जन्म भयो। मैले त यति चाहेको थिए की बच्चा स्वस्थ र सकुसल जन्मीयोस, छोरा होस वा छोरी। जब छोरीको जन्म भयो। आफुले सन्सारको सारा खुसी जिते जस्तो एकदमै खुसी महसुस भयो। तर छोरी जन्मीएको खबर जहाँकहाँ पुग्यो।

अधिकासंले त राम्रो प्रतिक्रिया जनाए तर आफन्तसहित कतिपयले भने, छोरी ! है छोरी ! आफन्तबाट यस्तो खल्लो प्रतिक्रिया आयो। त्यतिबेला मुटुमा ठुलो चोट लाग्यो। भनिन्छ हानेको चोट लाग्दैन, बचनको चोट लाग्छ। त्यस्तै मलाई पनि भयो। प्रसवको पिडाले मृत्युको मुखमै पुर्याएको थियो। प्रसव पिडा त सबै आमाहरुलाई थाहा होला, कस्तो पिडा हुन्छ भनेर? त्यो भन्दा ठुलो पिडा त छोरी जन्मी रे! भन्दा भयो।

धेरैले अँ छोरा होला भनेको त छोरी भई, बुढापाखालाई सोद्दा छोरा हुन्छ भनेको थियो छोरी भई। पराई घर जान्छे, पानी दिने त छोरा हो छोरीले के दिन्छे, लगायतका अनेक कुराहरु सुन्दा प्रसव पिडा भन्दा ठुलो पिडा महसुस भयो। मुटु चसक्क भयो। यी कुराहरुले आफुले ठुलो भुल र ठुलो गल्ती गरे जस्तो लाग्यो।

छोरी जन्मेको ६ दिनमै हातमा धाको बाँधेर सुद्याआँै भने, कसैले ९ दिनमा न्वारान गरौँ भने। छोरा भए त सबैलाई भोज खुवाउँथ्यौँ छोरीको पनि के गर्ने भनेर पन्छ्याउन थालीयो। सानोतिनो भएपनि आफ्नै जिद्दीमान्वारान गरियो। जोसुकैले पनि छोरीलाई काखमा समात्थे तर उनीहरुको शब्द यहि हुन्थ्यो कि, तँ त परघरी मान्छे, नाती भए त हुन्थ्यो, अर्काकी घरकी होस लु जा आफ्नै आमासंग। 

यी शब्दहरुले मुटुमा चोट पुग्थ्यो। हेर्दाहेर्दै छोरीलाई अन्न खुवाउने समय पनि आयो। परिवारमा छलफलभयो। गाउँले सबैलाई खाना (भोज) खुवाउने। जसोतसो परिवारबाट प्रस्ताव त पारित भयो। अब भोज खान गाउँलेलाई निमन्त्रणा त गर्नुपर्यो। निम्ता दिन जाँदा एक जनाले पनि खुसी साथ भनेनन कि हुन्छ हामी आउछौँ।  छोरीको पास्नि (अन्नप्राश्न) हो खाना खान आउनु है भन्दा आश्र्चय! माने।

हरेकको मुखबाट यहि जवाफ आयो कि, छोरा (नाती) भए त हुन्थ्यो, छोरीको पनि के खानु अर्काको घर जाने मान्छे। मुटुमा ढुगाँ राखेर गाउँभरि निम्ता बाँडे तर गाउँलेको जवाफले मुटु भक्कानिएर आयो। अक्सर यस्ता जवाफ दिनेमा र छोरा छ वा छोरी छ भनेर चेक गर भन्नेमा छोरि (आमा) हरुनै थिए । उनीहरुले यो कुरा बुझेनन कि म पनि छोरी हुँ। घर मैले धानेको छुँ।

परिवार मैले मैले हेरेको छुँ वा चलाएको छुँ । छोरी भएर आफुले सृटी बचाएको छुँ। सब भन्दा ठुलो त सृष्टी छ। आँखिर सृष्टि नै नभएको भए हामी मान्छे कहाँबाट हुन्थ्यौँ। आमा भनेकी सृष्टिकर्ता हुन भनेर यीनै आमाहरुले बुझदैनन्। छोरा भए त आनन्द हो आनन्द  भन्ने आमाहरु आमा नै नभए कसरी छोरा हुन्छन भनेर बुझ्दैनन्। 

मलाई मेरी आमाको र मेरी छोरीको धेरै माया लाग्छ। यहि सोच्छुँकी म जन्मीदा मेरी आमालाइ कती वचन लगाएको होला, र यो पनि बुझे की आमाहरुको कारण छोरी गर्भबाटै हिँसामा पर्ने रहिछीन्। तर मलाई यी वचन र अनावश्यक कुराहरुले कुनै फरक पर्देन। मलाई म आमा (महिला–छोरी) हुनुमा गर्व लाग्छ। म सृष्टिकर्ता हुँ म भएर यो सृष्टि पनि छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस