युवा पलायन र विदेश मोह : अवसरको खोजी की देशको भविष्य संकटमा?
आयुसा मडै, काठमाण्डौँः सामान्यतया "बाल्यावस्था र पूर्ण वयस्क अवस्थाबीचको संक्रमणकालीन चरणमा रहेका, शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक रूपमा विकासको प्रक्रियामा रहेका व्यक्तिलाई युवा भनिन्छ।”
त्यसैगरी संशोधित राष्ट्रिय युवा नीति २०८२ का अनुसार युवा भन्नाले १८ वर्षदेखि ३५ वर्षसम्मको उमेर समूहलाई जनाएको छ। युवा कुनै पनि राष्ट्रको सबैभन्दा सक्रिय, सिर्जनशील र उत्पादनशील जनशक्ति हो।
नेपालमा पछिल्ला केही वर्षहरूदेखि युवाहरूमा देखिँदै गएको पलायन र विदेश मोह एक गम्भीर सामाजिक शैक्षिक,आर्थिक र राजनीतिक समस्या र चुनौती का रूपमा देखिएको छ। उच्च शिक्षा प्राप्त गरेका युवादेखि सामान्य श्रमिकसम्म राम्रो रोजगारी, उच्च आम्दानी र सुरक्षित भविष्यको खोजीमा विदेश जान लालायित देखिन्छन्। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने र अध्ययनका लागि विदेश जाने युवाको संख्या निरन्तर बढीरहेको छ ।
यसले नेपालको सामाजिक शैक्षिक आर्थिक र राजनीतिक क्षेत्रमा एक गम्भीर बहस सिर्जना गरेको छ।नेपालमा हरेक वर्ष करिब ४ लाख युवा श्रम बजारमा प्रवेश गर्छन्। तर पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा तीमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीतर्फ आकर्षित हुने गरेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को अनुमानअनुसार श्रम बजारमा प्रवेश गर्ने युवामध्ये आधाभन्दा बढी विदेशिने गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०२३/२४ मा ७ लाख ७१ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर विदेश गएका थिए।नेपालीले श्रम स्वीकृति लिएर विदेशविदेश जाने क्रम केवल रोजगारीमा मात्र सीमित छैन। अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या पनि लगातार बढिरहेको छ। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२३ मा मात्र १ लाख १० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि 'नो अब्जेक्सन सर्टिफिकेट' (NOC) लिएका थिए।
यसले नेपालको उच्च शिक्षाप्रति युवाहरूको घट्दो आकर्षण र विदेशप्रतिको बढ्दो मोहलाई संकेत गर्छ। विशेषज्ञहरूका अनुसार बेरोजगारी, न्यून तलब, राजनीतिक अस्थिरता, भ्रष्टाचार तथा भविष्यप्रतिको अनिश्चितताले युवालाई विदेशतर्फ धकेलिरहेको छ। सन् २०२६ मा प्रकाशित एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा युवा बेरोजगारी दर २० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै यही कारणले दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि देश छोडिरहेको जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशित तथ्याङ्कअनुसार हाल करिब १५०० नेपाली दैनिक रूपमा रोजगारीका लागि विदेश जाने गरेका छन् र रेमिटेन्सले नेपालको कुल गार्हस्थ उत्पादन (GDP) को झण्डै २५ प्रतिशत योगदान पुर्याएको छ।
नेपालमा युवा पलायनको मुख्य कारणहरू बेरोजगारी र न्यून आय , गुणस्तरीय शिक्षाको खोजी, राजनीतिको स्थिरता र भविष्य प्रतिको अनिश्चितता, भ्रष्टाचार र सुशासनको अभाव ,सामाजिक प्रभाव र विदेश मोह आदि हुन्। जसले विभिन्न सामाजिक, आर्थिक र विकासात्मक क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको छ। शिक्षित, दक्ष र ऊर्जाशील युवा जनशक्ति विदेशिँदा देशभित्र आवश्यक मानव संसाधनको अभाव हुन थालेको छ, जसलाई "ब्रेन ड्रेन" को समस्या भनिन्छ।
गाउँघरमा कृषि तथा उत्पादनमूलक क्षेत्रमा श्रमिकको कमी देखिन थालेको छ भने विश्वविद्यालय तथा प्राविधिक संस्थाहरूमा समेत विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ। परिवारका सदस्य विदेश जाँदा पारिवारिक विखण्डन, बालबालिका र वृद्धवृद्धाको हेरचाहमा समस्या तथा मानसिक तनाव जस्ता सामाजिक असरहरू पनि बढेका छन्। साथै नेपालको अर्थतन्त्र रेमिटेन्समा अत्यधिक निर्भर बन्दै जानुले दीर्घकालीन आर्थिक आत्मनिर्भरतामा समेत प्रश्न उठाएको छ।
युवा पलायनलाई नियन्त्रण गर्न तथा युवालाई स्वदेशमै अवसर प्रदान गर्न सरकारले रोजगारी सिर्जना, सीपमूलक शिक्षा र उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्छ। कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाई युवाका लागि आकर्षक रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ। शिक्षालाई श्रम बजारको मागसँग जोड्दै प्राविधिक तथा व्यावसायिक तालिमलाई प्रभावकारी बनाउनु पर्दछ। साथै युवा उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण, अनुदान तथा व्यवसायिक परामर्श उपलब्ध गराएर स्वरोजगारतर्फ प्रोत्साहन गर्नुपर्छ। सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणमार्फत युवामा देशभित्रै भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास जगाउन सके युवा पलायनको दर उल्लेखनीय रूपमा घटाउन सकिनेछ।
अतः युवा पलायन र विदेश मोह आज नेपालको सबैभन्दा गम्भीर सामाजिक, आर्थिक तथा राष्ट्रिय चुनौतीमध्ये एक बनेको छ। राम्रो शिक्षा, रोजगारी र भविष्यको खोजीमा विदेश जानु व्यक्तिको अधिकार र अवसरको विषय भए पनि ठूलो सङ्ख्यामा दक्ष, शिक्षित र ऊर्जाशील युवाहरू देश छोड्दा यसको असर राष्ट्रको दीर्घकालीन विकासमा पर्नु स्वाभाविक छ।
एकातर्फ वैदेशिक रोजगारी र विदेश अध्ययनले परिवारको आर्थिक अवस्था सुधार गर्न तथा रेमिटेन्समार्फत राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याएको छ। भने अर्कोतर्फ यसले देशभित्र दक्ष जनशक्तिको अभाव, उत्पादनशील क्षेत्रमा श्रम संकट तथा सामाजिक समस्याहरूलाई समेत बढाएको छ।
त्यसैले युवा पलायनलाई केवल व्यक्तिगत निर्णयको रूपमा नभई राष्ट्रिय विकास, सुशासन र अवसरसँग जोडिएको विषयका रूपमा हेर्न आवश्यक छ। यदि राज्यले युवाका लागि गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, उद्यमशीलताको वातावरण र आशावादी भविष्य निर्माण गर्न सक्यो भने नेपालका युवाहरूले आफ्नो क्षमता र सीप स्वदेशमै प्रयोग गरी समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्नेछन्।
लेखक मडै, 'काठमाण्डौँ स्कूल अफ ल' मा स्नातक तह प्रथम वर्षमा कानुन अध्ययनरत विद्यार्थी हुन्।