आजदेखि खोप सप्ताह सुरू
धनगढी: आज अर्थात बैशाख ११देखि १७ सम्म खोप सप्ताहका रुपमा मनाइन्छ। सुदूरपश्चिममा पनि खोप सप्ताह मनाइने स्वास्थ निर्देशनालय डोटीले जनाएको छ। नेपालमा २०३४ देखि खोप लगाउन थालिएको हो। २०३४ मा बिफर उन्मुलन गर्न खोप अभियान चलाइएको थियो। अहिले १३ किसिमका एन्टिजेन प्रदेशका १ हजार ७ सय खोप केन्द्रबाट लगाउने काम भई रहेको निर्देशनालयले जनाएको छ।
खोप कार्यक्रम सफल र सबभन्दा लागत प्रभावकारी कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डाक्टर जगदीश जोशीले बताए। उनले बालमृत्युदर घटाउन खोप कार्यक्रमको प्रमुख भूमिका रहेको बताए।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा बिसीजी खोपको लगाउनेको प्रतिशत ९० थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ९८ प्रतिशत पुगेको थियो। चालु आर्थिक वर्षको बैशाख ९ गतेसम्म ६८ प्रतिशतले बीसीजी खोप लगाएका छन्।
सुदूरपश्चिममा डिपिटी हेपाटाइटिस बी खोपको पहिलो मात्रा लगाएका बालबालिकाको प्रतिशत ८९ प्रतिशत पुगेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १०१ प्रतिशतले यो खोप लगाएका छन्। यस्तै, आर्थिक वर्ष २०७९/०८० को बैशाख ९ सम्म ६७ प्रतिशतले खोप लगाएको निमित्त निर्देशक जोशीले बताए।
डिपिटी र हेपाटाइटिस बी को तेस्रो मात्रा लगाउने प्रतिशत आर्थिक वर्ष २०७७/०७८ देखि चालू आर्थिक वर्षको बैशाख ९ सम्म क्रमशः ८९ प्रतिशत, १०३ प्रतिशत र ६३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेशमा दादुरा रुबेला खोपको पहिलो मात्रा आर्थिक वर्ष २०७७/०७८ मा ८३ प्रतिशत, आर्थिक वर्ष २०७८/०७९ मा १०२ र चालू आर्थिक वर्षको बैशाख ९ सम्म ६४ प्रतिशत पुगेको छ। यस्तै, दादुरा रुबेलाको दोस्रो मात्रा लगाएका बालबालिकाहरूको कभरेज प्रतिशत क्रमश: ८५, ९४ र ६९ रहेको छ।
सुदूरपश्चिम प्रदेशमा पूर्ण खोप पाएका बालबालिकाको प्रतिशत आर्थिक वर्ष २०७७/०७८ मा ७९ प्रतिशत, आर्थिक वर्ष २०७८/०७९ मा ९० र आर्थिक वर्ष २०७९/०८० को बैशाखसम्म ४८ प्रतिशतले पूर्ण खोप पाएको निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका ११ वर्ष माथिको लक्षित जनसंख्यामा कोभिडको पहिलो मात्रा पाउने प्रतिशत ७९ रहेको छ भने पूर्ण मात्रा ८३ प्रतिशतले पाएका छन्। यस्तै, पहिलो र दोस्रो अतिरिक्त मात्रा क्रमशः ४६ र ५ प्रतिशतले लगाएका छन्।
सरकारले बैशाख महिनालाई खोप महिना मनाउने निर्णय गरेको छ। यो वर्ष "बिग क्याच अप" नारा सहित खोप सप्ताह मनाइदैछ। यस्तै, खोप लगाउन छुट भएका बालबालिकालाई बैशाख १५ देखि ३१ गतेसम्म स्वास्थ्य संस्थामा खोप लगाइने निर्देशक जोशीले बताए।