नेपाल भियतनामसँग पराजित
काठमाडौं: पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको हो।
भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन्।
यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे। नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन्। खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन्। एनगुएन थि बिच थुएको क्रसमा यनले सहजै गोल गरिन्।
खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २–० को अग्रता बनायो। कप्तान न्हुकै प्रहारमा नेपालकी समिक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो। ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३–० ले अघि रह्यो।
दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्यो। नेपालले पनि एक गोल फर्कायो। खेलको ४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत गोल व्यक्तिगत दोस्रो गोल गरेपछि भियतनाम ४–० ले अघि रह्यो। खेलको ७९ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई ४–१ को स्थितिमा ल्याए। सरु लिम्बुको चलाखीपूर्ण पासमा सावित्राले दुई डिफेन्डरलाई पछि पार्दै गोल गरिन्।
त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५–१ को जित दिलाईन्। त्यसबाहेक दुबै टोलीले केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेनन्। खेलको सातौं मिनेटमा भियतनामका ट्रान थाइ थु थाओको क्रसमा फाम हाइ यनको फितलो प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। खेलको नवौं मिनेटमा नेपालका अमिशा कार्कीले गोलको सुनौलो अवसर खेर फालिन।
दिपा शाहीको लामो पासमा उत्कृष्ट रन बनाएका अमिशाले भियतनामी गोलकिपर मात्र रहेको अवस्थामा पोस्टमाथिबाट प्रहार गरिन्। खेलको २० औं मिनेटमा भियतनामका फाम हाइको फ्लिक प्रहार पोस्टमा लागेर फर्किएको थियो। लगत्तै एनगुएन डुङको हेडर नेपालकी गोलकिपर अन्जिला सुब्बाले नियन्त्रणमा लिईन्। ३४ औं मिनेटमा नेपालका अमिशा कार्कीको प्रहार भियतनामी गोलकिपर खोङ थि हांगले सहजै नियन्त्रणमा लिईन्।
खेलको ८६ औं मिनेटमा नेपालका सावित्रा भण्डारीको प्रहार भियतनामी गोलकिपरले सहजै नियन्त्रणमा लिईन्। छनोटको समूह ’सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो।