सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै दुई करोड अमेरिकी डलरको ‘प्रोजेक्ट’ मा देखिएन प्रगति

सहजपुर–विपीनगर–बोगटान सडक

२०७९ चैत्र ९, ०७:१६

वीरेन्द्र भट्ट, धनगढीः तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सहजपुर–विपीनगर–बोगटान सडक चार वर्ष वितिसक्दा पनि काम पुरा भएको छैन्। निर्माण सुरु भएको चार वर्षको अवधिमा प्रगति ८० प्रतिशत मात्र देखिएको हो। ५० किलोमिटर सडक कालोपत्रका लागि २०७५ फागुनमा निर्माण सम्झौता गरिएको भए पनि अझै २० प्रतिशत काम हुन बाँकी छ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी सडक निर्माणको काम भइरहेको योजना कार्यालयको दाबी छ। कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ। २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न निर्माण सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको छ।

विविध कारण यो सडक निर्माणको काम समयमा पुरा गर्न नसकिएको सडक सुधार तथा विकास योजना कार्यालय कैलालीका सूचना अधिकारी गौरब धामीले बताए। ‘अब चालु आर्थिक वर्षभित्रै सम्पूर्ण सडक निर्माणको काम सक्ने गरी अहिले फिल्डमा काम भइरहेको छ, सडक निर्माणमा अहिले कुनै अवरोध नभएकाले बाँकी रहेको काम यसै वर्ष सकिन्छ।’

वर्षौँदेखि राजनीतिक दलका लागि चुनावी मुद्दा बनेको सहजपुर–बोगटान सडकले मूर्तरूप लिन थालेको छ। डोटीको दक्षिणी क्षेत्रको विकासको कोसेढुंगाको रूपमा चर्चा गरिएको सहजपुर–बोगटान सडक निर्माणको काम अन्तिम चरणको पुगेको योजना कार्यालयले जनाएको छ। सडक कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने दाबी गरिएको छ।

सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ। अहिले ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम भइरहेको छ। २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो।  कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो। 

सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सडक निर्माण गरिसक्नु पर्ने थियो। तर रुख कटानमा भएको ढिलाईका कारण समयमा निर्माण हुन नसकेको योजना कार्यालयका सूचना अधिकारी धामीले बताए। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो प्रोजेक्टको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलर छ।

कमेन्ट लोड गर्नुस