सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड गोल्ड कपको तयारी पूरा, पहिलो खेलमा एपीएफ र बागमती भिड्ने

२०७९ चैत्र ८, ०६:३४ खबर संवाददाता

धनगढीः मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। बुधवार धनगढी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले छैटौं संस्करणको प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको हो। 

चैत ९ गते दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगितको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। क्लवका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लव र वागमती क्लबबिच बिहिवार दिउँसो साढे तीन बजे हुने बताए। 

प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले बताएको छ। 

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ। सुदूरपश्चिममा पर्वका रुपमा परिचित प्रतियोगिता २०७३ सालदेखि आयोजना हुदै आएको छ। प्रतियोगितामा उद्घाटन खेल हेर्न टिकट नलाग्ने महासचिव शाहीले बताए। 

यस्तै अन्य दिन विद्यार्थीका लागि एक सय र अन्यका लागि एक सय ५० रुपैयाँको टिकट लाग्ने छ। टिकट काटेका मध्ये दैनिक एक जना दर्शकले गोलाप्रथाबाट एन्ड्रोइड मोबाइल फोन पुरस्कार पाउने छन्। 

क्लबका अध्यक्ष सुरेश हमालले सुरुका खेल खेल्ने टीमहरु आइसकेको बताए। उनले सुदूरपश्चिममा आयोजना हुने एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सबैले आफ्नो ठानेर सहयोग गरिदिन आग्रह गरे। 

मुख्य प्रवद्र्धक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले चित्र भट्टको संयोजकका रुपमा पठाएको छ। परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले निजि क्षेत्रलाई पछिल्लो समय आर्थिक मन्दीले परेको असरका कारण प्रायोजक पाउन मुस्किल भएका बेला सरकारले आवश्यक सहयोग गरेर गोल्डकप हुन लागेको बताए। 
 

कमेन्ट लोड गर्नुस