पीएनजीमाथि नेपालको सानदार जित
काठमाडौं: टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ। लिग टूको आफ्नो ३५ औं खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको छ। पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए। अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो। नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन। पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो। पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए।
हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन्। नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे। उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए। यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २÷२ तथा सोमपाल कामीले १ विकेट लिए। नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ। नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ। यस खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।